राति ९ बजेपछि कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम नगर्न: जिल्ला प्रशासनको आग्रह

दैलेख: जिल्ला प्रशासन कार्यालयले हिन्दु महिलाहरूको महान् चार्ड हरितालिका तिजको अवसरमा राति ९ बजेपछि कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम नगर्न आग्रह गरेको छ।
कार्यालयले जारी गरेको सूचनामा हालका वर्षहरूमा तिज पर्वको नाममा तडकभडकपूर्ण, खर्चिला र उच्छृङ्खल गतिविधि बढ्दै गएको जनाउँदै यसले सांस्कृतिक सद्भाव, र सभ्य संस्कृतिमा असर पारेको उल्लेख गदै यसो नगर्न कार्यालयले सूचना जारी गरेको हो।
साथै, सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र नियमावली अनुसार धार्मिक तथा सांस्कृतिक पर्वका नाममा निषेधित क्रियाकलाप, ठगी, महँगी, कृत्रिम अभाव र कालोबजारी नगर्न चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति विना सार्वजनिक स्थलमा मेला, महोत्सव लगायतका कार्यक्रम सञ्चालन नगर्न भनिएको छ। सूचनामा जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, उद्योग व्यवसायी, पेसागत सङ्घसंस्था, सञ्चारकर्मी, महिला समूह र सम्पूर्ण जिल्लावासीलाई सामाजिक विकृति नियन्त्रण र सभ्य पर्व मनाउन सहयोग र सहकार्य गर्न आह्वान गरिएको छ।
कार्यालयले सूचनाको उल्लङ्घन भएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।
प्रतिक्रिया