जुम्लामा विद्यार्थी संख्या अनुसार शौचालय नहुँदा पढाइ प्रभावित

जुम्लामा विद्यार्थी संख्या अनुसार शौचालय नहुँदा पढाइ प्रभावित

जुम्ला - चन्दननाथ नगरपालिका–स्थित चन्दननाथ माध्यमिक विद्यालयमा विद्यार्थी संख्या अनुसारको शौचालय नहुँदा विद्यार्थीहरू कठिनाइमा परेका छन्। विद्यालयमा हाल करिब १ हजार ८ सय विद्यार्थी अध्ययनरत भए पनि आवश्यक संख्यामा शौचालय नहुँदा लामो लाइनमा बस्नु पर्ने बाध्यता भएको छ।

कक्षा १० की छात्रा सुजता काफ्लेले विशेष गरी महिनावारीको समयमा छात्राहरूले ठूलो समस्या भोग्नुपर्ने बताउनुभयो । उहाँका अनुसार, “शौचालयमा पालो पर्खनु मात्र होइन, महिनावारीका बेला झन् असुविधा हुने गर्छ।”

विद्यार्थी उज्वल उपाध्यायले पहिल्यै रहेको शौचालय भत्काएपछि नयाँ शौचालय समयमै नबनिएकाले समस्या थपिएको बताउनुभयो । “विद्यालय आउँदा पढाइभन्दा पनि शौचालयमा पालो पाइन्छ कि भन्ने चिन्ता हुन्छ,” उहाँले भन्नुभयो ।

कक्षा १० की अनुपा शाहीले शौचालयमा पानीको अभाव र स्यानिटरी प्याड व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिनुका साथै सरुवा रोगको जोखिम पनि बढेको चिन्ता व्यक्त गर्नुभयो । विद्यार्थी रमित सुनारले पनि शौचालय समस्याका कारण विद्यालय आउन मन नलाग्ने बताउनुभयो । “पालो कुर्दा पढाइ छुट्छ,” उहाँले भन्नुभयो।

विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले शौचालय अभावको समस्या स्वीकार गर्दै यसको समाधानका लागि सम्बन्धित निकायमा पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार शिक्षकका लागि बनाइएका पाँच वटा शौचालय अस्थायी रूपमा प्रयोग भइरहेका छन्, तर विद्यार्थी संख्याका आधारमा पर्याप्त छैनन्।

भवन तथा शौचालय निर्माणको जिम्मा पाएको भवन सहरी विकास डिभिजन कार्यालय जुम्लासँग पटक–पटक पत्राचार गरिसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, “निर्माण कम्पनीले दुई हप्ताभित्र काम सम्पन्न नगरे वैकल्पिक उपाय खोज्नेछौं।”

प्रतिक्रिया