‘जसको कोही हुँदैन, उसका लागि सरकार छ’
कर्णालीका विपन्न बिरामीलाई २० हजारसम्म यातायात खर्च दिने

काठमाडौँ – कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगर्त ‘जसको कोही हुँदैन, उसका लागि सरकार छ’ भन्ने नारालाई सार्थक बनाउने उद्देश्यसहित कर्णाली प्रदेश सरकारले विपन्न, असहाय र बेवारिसे बिरामीलाई यातायात खर्च उपलब्ध गराउने व्यवस्था लागू गरेको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार अब अस्पताल पुग्न वा उपचारपछि घर फर्कन आर्थिक अभाव भएकालाई भौगोलिक दूरीअनुसार ५ हजारदेखि २० हजार रुपैयाँसम्म सहयोग प्रदान गरिनेछ । यसका लागि सम्बन्धित वडाको सिफारिस वा उपचार गर्ने अस्पतालको प्रमाण आवश्यक हुनेछ ।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आर्थिक कठिनाइका कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले योजना ल्याइएको बताउनुभयो । “यो सुविधाले दुर्गमका गरिब जनतालाई ठूलो राहत दिने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो ।
यसबाहेक, उपचारका क्रममा मृत्यु भई धार्मिक संस्कार गर्न आर्थिक अभाव हुने परिवारका लागि शववाहन खर्च पनि सरकारले व्यहोर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया