दैलेखमा रोकिएको मध्यपहाडी राजमार्ग निर्माणको बाटो खुल्यो

दैलेख – सर्वोच्च अदालतले नारायण नगरपालिका–२, जाहारकोट–माल्ली सडकखण्डमा देखिएको कानुनी विवाद खारेज गरेसँगै मध्यपहाडी (पुष्पलाल) राजमार्गको दैलेख खण्डमा सडक निर्माणको बाटो खुलेको छ।
नारायण–२ निवासी अधिवक्ता यामराज थापाले श्रीमती प्रभाकुमारी सिजापति थापा र छोरी अनुषा थापासहितको नाममा रहेको पाँच कित्ता जग्गाको मुआब्जा ३ करोड २२ लाख ३४ हजार रुपैयाँ माग गर्दै २०७८ चैत ८ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रिट दायर भइसकेको भोलिपल्ट चैत ९ गते अदालतले अस्थायी आदेश दिँदै निर्माण कार्य रोकेको थियो ।
मंगलबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको इजलासले रिट खारेज गरेपछि कानुनी अवरोध हटेको हो । मुद्दामा नेपाल सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता दिपेशप्रताप शाहले बहस गरेका थिए भने रिट निवेदकका तर्फबाट अधिवक्ता खड्गबहादुर सिजापतिले मुआब्जा उपलब्ध गराएर मात्र निर्माण अघि बढाउनुपर्ने तर्क गरेका थिए ।
पुष्पलाल राजमार्गले छोएका २६ जिल्लामध्ये दैलेखमा मात्र सबैभन्दा लामो १२५ किलोमिटर खण्ड पर्दछ । सदरमुकाम नजिक माल्ली क्षेत्रमा करिब ३०० मिटर सडक रिटका कारण कालोपत्रे हुन सकेको थिएन। यो खण्ड दैलेख हुँदै माथिल्लो कर्णाली, सुदूरपश्चिम, पेट्रोलियम अन्वेषणस्थल, पञ्चकोशी तीर्थ तथा प्राचीन दुल्लु पुग्ने मुख्य मार्ग हो। निर्माण रोकिएको कारणले वर्षातमा हिलो र हिउँदमा धुलोको समस्या स्थानीय र यात्रुहरूले भोगिरहेका थिए।
रिट खारेजको सूचना पाएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका योजना प्रमुख इन्जिनियर अन्जु परियारले फैसलाको पूर्णपाठ प्राप्त भएलगत्तै रोकिएको निर्माण कार्य अघि बढाउने तयारी भइरहेको बताइन्।
प्रतिक्रिया