वन्यजन्तुको आतङ्कले किसान बस्ती सर्न बाध्य

वन्यजन्तुको आतङ्कले किसान बस्ती सर्न बाध्य फोटो राजन खडायत , डाडीमाडि मोड दैलेख

दैलेख: भैरवी गाउँपालिकाका विभिन्न वडामा पाक्न लागेको मकै बाली वन्यजन्तु सखाप पारेपछि किसानहरू गाउँ छोड्न बाध्य भएका छन् ।वर्ष भरी दुःख गरेर लगाएको मकै, धान, गहुँ बाली वन्यजन्तु सखाप पार्न थालेपछि किसानहरू गाउँ छोड्न बाध्य भएका हुन्।

मकै बाली जोगाउनका लागि अहिले किसानहरू बारीमै रात बिताइरहेका छन्। प्रत्येक वर्षको बँदेल र बाँदर आतङ्कले किसानहरूले गाउँ छोड्नु पर्ने अवस्था आएको भैरवी गाउँपालिका–३ का स्थानीय देवीराम खडायतले जानकारी दिए। उनी भन्छन्, वन्यजन्तु आतङ्ककै कारण मैले गाउँ छोडिसकेको छु। म जस्तै अन्य किसानहरूले पनि गाउँ छोड्ने योजना बनाएका छन्। उनका अनुसार अहिले भैरवीको वडा नं। ४ र ३ मा अन्य वडाको भन्दा बढी बँदेल आतङ्क छ।

सोही वडाका अर्का किसान शिवराज उपाध्याय भन्छन्, “हामी रातदिन मकै बाली जोगाउन बारीमै सुत्छौँ, बारीमा सुतेको बेला सर्पले आएर टोक्ने हो कि, कुनै जनावरले आएर टोक्ने हो कि भन्ने मनमा डर हुँदा–हुँदै पनि बारीमा बस्नु पर्ने बाध्यता छ। यो बँदेल आतङ्क हामीले १०र१२ वर्ष पहिलादेखि भोग्दै आएका छौँ, अहिलेसम्म पनि यसको समाधान कतैबाट भएको छैन। यसको विषयमा पटक–पटक पालिकामा निवेदन दिँदा पनि कुनै सुनुवाइ भएन, हामीलाई क्षति भन्दा पनि पालिकाले बाली बिमा गर्दियोस् भन्ने हाम्रो माग छ।”

भैरवी गाउँपालिका कृषि शाखा प्रमुख पृतम थापाले क्षतिको आधारमा किसानलाई राहत दिने विषयमा पालिकामा निर्णय भएको बताए। थापाका अनुसार किसानलाई पालिकाबाट बिमा गर्न सकिने अवस्था छैन, यदि किसान आफैले गर्न चाहेको अवस्थामा पालिकाबाट सिफारिस गरिदिने र अन्य कुराको सहजीकरण सहयोग गरिदिने उनले बताए।

भैरवी गाउँपालिका(३ का वडा अध्यक्ष भक्ति प्रसाद उपाध्यायले भैरवीको ३ र ४ नम्बर वडा मात्र होइन, सबै वडामा बँदेल र बाँदरको आतङ्क रहेको बताए। उपाध्याय भन्छन्, यो एक खालको विपत्ति हो, म आफैँ पनि किसानको छोरा हुँ, मेरो मकै बालीमा पनि क्षति भएको छ। वडाबाट केही गर्न सकिने अवस्था छैन। यो विषयमा म पालिकामा पनि कुरा उठाउँछु, र कसको कति क्षति भएको छ, अनुगमन गरेर पालिकाबाट राहत उपलब्ध गराउन लाग्नेछु।

यता बन डिभिजन कार्यालय दैलेखका डिभिजन बन अधिकृत राधा कृष्ण दासले जङ्गली जनावरलाई कसैले पनि छेकेर राख्न सक्ने अवस्था नरहेको बताए। उनका अनुसार सरकारले नै बँदेललाई कृषि हानिकारक जनावर भनेर घोषणा गरेको छ। उनी भन्छन्, “बँदेललाई बालीमा आउन नदिने भनेको कि जङ्गल घेरबार गर्ने नै हो, कि भने धपाउने हो। यो बाहेक अरू उपाय छैन। कसैले पनि बन कार्यालयको अनुमति बिना बँदेललाई मार्न पाइने व्यवस्था कानुनमा छैन। केही दिनअघि आठविस नगरपालिकामा बँदेल आक्रमणले ५र६ मानिस घाइते भएका थिए, हामीले अनुमति दिएर मार्न लागेको हौँ।”

कृषि विकास कार्यालय दैलेखका सूचना अधिकारीकाले दिएको जानकारी अनुसार दैलेखमा १९ हजार १ सय २० हेक्टर क्षेत्रफलमा मकै बाली लगाउने गरिएको छ ।

प्रतिक्रिया