दुई वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलसिस सेवा सञ्चालन

दुई वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलसिस सेवा सञ्चालन

जुम्ला –  जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा दुई वर्षपछि डायलसिस सेवा फेरि सञ्चालनमा आएको छ।

लामो समयसम्म प्राविधिक जनशक्ति र उपकरण अभावका कारण रोकिएको यो सेवा सुरु भएपछि बिरामीहरूमा राहतको महसुस भएको छ।

मुगुकी जीरकला बियार पहिलो बिरामी भएकी हुन्। आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेकी उनले अब स्थानीयमै डायलसिस सेवा पाएर ठूलो खुशी लागेको बताइन्।

पहिले बिरामीहरूले डायलसिसका लागि नेपालगन्ज वा काठमाडौंसम्म महँगो यात्रा गर्नुपर्ने बाध्यता थियो। स्थानीय अस्पतालमा सेवा सुरु भएपछि अब यात्रा र खर्च कम हुने भएको छ।

स्थानीय परीलाल थापाले अघिसम्म मिर्गौला रोगी उपचारविहीन बस्न बाध्य रहेको स्मरण गर्दै, अहिले सेवा उपलब्ध हुनु सकारात्मक कदम भएको बताए।प्रतिष्ठानकी नर्सिङ डाइरेक्टर सविना थापाले अब कर्णालीसहित पश्चिम नेपालका बिरामीहरूलाई बाहिर जान नपर्ने भएकाले राहत अनुभव हुने बताइन्।

उपकुलपति डा. पुजकुमार रोकायाले आवश्यक जनशक्ति, औषधि र उपकरणको व्यवस्थापन पूरा भइसकेको र अब डायलसिस सेवा निरन्तर सञ्चालन हुने आश्वासन दिए। हाल अस्पतालमा चार मेसिन तयारी अवस्थामा छन्, जसमा दुई मेसिन सञ्चालनमा ल्याएर सेवा सुरु गरिएको छ।

प्रतिक्रिया