एन्टि–रेबिज भ्याक्सिन अभावका विषयमा सरकारको ध्यानाकर्षण

तत्काल सरकारलाई आपतकालीन कदम चाल्न सांसद रानाको माग

एन्टि–रेबिज भ्याक्सिन अभावका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ –   प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाले देशभर एन्टि–रेबिज भ्याक्सिन अभाव भएपछि गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेकी छन् ।बुधवार संसदमा बोल्दै उनले स्वास्थ्य मन्त्रालय र विभागको लापरवाहीका कारण आमनागरिक रेबिजको उच्च जोखिममा परेको बताइन्।

उनका अनुसार राजधानीको टेकु अस्पतालमा मात्र असार महिनामा १७ हजारभन्दा बढीले एन्टि–रेबिज भ्याक्सिन लगाएका थिए । हाल उपत्यकाभित्र दैनिक पाँच सयभन्दा बढी बिरामी त्यहाँ धाइरहेका छन् । तर जिल्ला र प्रादेशिक अस्पतालमा भने भ्याक्सिनको आपूर्ति पूर्ण रूपमा शून्य भएको उनको भनाइ छ।

सांसद रानाले १३ करोड रुपैयाँ बजेट विनियोजन हुँदाहुँदै स्वास्थ्य सेवा विभागले समयमा खरिद नगरेको र आपूर्ति व्यवस्थापनमा रहेको लापरवाहीकै कारण यस्तो अवस्था सिर्जना भएको बताइन् । विभागले पनि एउटा मात्रै फ्रिज–भ्यानका कारण ढुवानी ढिलो भएको स्वीकार गरेको छ।

यस्तो संवेदनशील अवस्थामा सांसद रानाले सरकारलाई आपतकालीन खरिद तुरुन्त सुरु गर्न, कोल्ड–चेन र ढुवानी संरचना विस्तार गर्न, र जिम्मेवार निकायलाई जवाफदेही बनाउन जोरदार माग गरेकी छन्।

त्यस्तै दैलेखको भैरवी गाउँपालिका–३ मा बुधवार चट्याङ लागेर घाइते भएका तीनजनाप्रति चासो व्यक्त गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी थिइन्।

प्रतिक्रिया