चिकित्सकलाई अफिस समयमा निजी अस्पतालमा काम नगर्न निर्देशन

सुर्खेत - कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा निजी अस्पताल वा क्लिनिकमा काम नगर्न निर्देशन दिएको छ । सरकारी सेवामा रहेर निजी संस्थामा काम गरेको गुनासो बढेपछि सामाजिक विकास मन्त्रालयले यस्तो कदम चालेको हो ।
मन्त्रालयका सचिव धोलकराज ढकालले कार्यालय समयमा निजी अस्पतालमा काम गर्नु कानुन र नैतिकता विपरीत भएको भन्दै पदीय मर्यादा र पेशागत अनुशासनमा रहन निर्देशन दिएका छन् ।
स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीका अनुसार कर्णाली प्रदेशमा कार्यरत चिकित्सक वा कर्मचारीले निजी स्वास्थ्य संस्थामा काम नगरेको स्वघोषणा पश्चात मात्रै सुविधा पाउने व्यवस्था भए पनि केहीले नियम उल्लंघन गरेको गुनासो आएको छ ।
मन्त्रालयले यस्ता कार्य दोहोरिएमा नेपाल स्वास्थ्य सेवा ऐन–नियमावली र कर्णाली प्रदेश निजामती सेवा ऐनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
प्रतिक्रिया