कर्णालीमा सत्ता समीकरण : देउवासँगको भेटपछि अविश्वास फेरि चुलिँदै

सुर्खेत – कर्णाली प्रदेशमा सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको अविश्वास फेरि सतहमा आउन थालेको छ। केही दिनअघि मात्रै गठबन्धन संयन्त्रको बैठकमार्फत विवाद समाधान गर्ने सहमति भए पनि पछिल्ला भेटघाट र अभिव्यक्तिले आन्तरिक तिक्तता अझै मेटिन नसकेको संकेत गरेका छन्।
बिहीबार (भदौ ५) गते मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं, बूढानीलकण्ठस्थित उनको निवासमा भेट गरेका थिए । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मुख्यमन्त्री कँडेलले समसामयिक राजनीति, विकास, समृद्धि र सुशासनबारे गहन छलफल भएको उल्लेख गर्दै “महत्त्वपूर्ण सुझाव र मार्गदर्शनका लागि सभापति एवम् पूर्वप्रधानमन्त्रीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु” भनेका छन्।
तर सोही दिन कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि देउवासँग भेट गरे। शाहीले आफ्नो फेसबुक कमेन्टमार्फत मुख्यमन्त्री कँडेलले ‘आजै हट, भोलि नै हट’ भनेर देउवासँग गुनासो गरेको दाबी गरेका छन्। उनले लेखेका छन्, “मलाई जीवन शाहीले आजै हट, भोलि नै हट भनेर रिपोर्टिङ गर्नुभएछ त, मेरो ११ बजेको भेटमा सभापतिज्यू भन्दै हुनुहुन्थ्यो।”
शाहीका अनुसार, देउवाले भेटका क्रममा कँडेललाई पदबाट हटाउने आशय प्रकट गरेका थिए। तर कँडेलले भने देउवासँगको छलफलमा त्यस्तो प्रसंग नउठेको दाबी गरेका छन्।
यस घटनाक्रमले कर्णाली प्रदेश सरकारभित्र अझै स्थायित्व र आपसी विश्वास टड्कारो चुनौती बनेको देखिन्छ। सत्ता गठबन्धनलाई मजबुत पार्ने सहमति भएको केही दिन नबित्दै देउवासँगका भेटघाट र त्यसबारे आएका विभिन्न व्याख्याले कांग्रेस–एमाले सहकार्य प्रश्नचिन्हमुनि परेको हो।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, कर्णालीमा कांग्रेस र एमालेबीचको असमञ्जस केवल पद र शक्ति सन्तुलनमा सीमित छैन। विकास, सुशासन र नेतृत्वको शैलीमै असहमति देखिँदा प्रदेश सरकार फेरि अस्थिरताको चक्रमा फस्ने खतरा बढेको छ।
प्रतिक्रिया