सुर्खेतमा ‘म को हुँ’ सडक नाटक प्रर्दशन

सुर्खेत - “यौनिक तथा लैङ्गिक अल्पसंख्यक हुनु प्राकृतिक हो, स्वीकार गरौँ” भन्ने मूल नारासहित सुर्खेतका दुई स्थानमा ‘म को हुँ’ शीर्षकको जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको प्रत्यक्ष अभिनयमा प्रस्तुत गरिएको उक्त नाटकमा यौन अभिमुखीकरण, लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुति र यौन विशेषता जस्ता संवेदनशील विषयवस्तु समेटिएका थिए ।
सडक नाटक सेभ द चिल्ड्रेनको साझेदारीमा, वीरेन्द्रनगर नगरपालिकाको समन्वय र सोसेक नेपालद्वारा सञ्चालित लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिका र युवाहरूको अधिकार संरक्षण तथा समावेशिता प्रवर्द्धन परियोजनाको सहजीकरणमा गरिएको हो ।
परियोजना संयोजक प्रभा डाँगीका अनुसार, नाटकमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू स्वयंले अभिनय गरेका थिए । “नाटकमार्फत सामाजिक स्वीकार्यता बढाउन, समुदायले भोगेका समस्या उजागर गर्न, परिवार र समाजमा हुने भेदभाव र लान्छना न्यूनीकरण गर्न तथा उनीहरूले पाउनुपर्ने अधिकारबारे सन्देश प्रवाह गर्न उद्देश्य राखिएको हो,” डाँगीले बताइन् ।
उनका अनुसार उक्त सडक नाटक प्रर्दशनमा घण्टाघर चोकमा १५० र मंगलगढी चोकमा दुइसय जनाको सहभागीता रहेको थियो । नाटकले स्थानीयवासीको उल्लेखनीय सहभागिता र चासो आकर्षित गरेको थियो । सहभागीहरूले नाटकले दिएको सन्देशले सामाजिक धारणामा सकारात्मक परिवर्तन ल्याउन र सबै समुदायबीच सहिष्णुता तथा स्वीकार्यता प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया