दुल्लु नगर प्रमुखसँग विशेष रिपोर्ट

दैलेख – कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहहरुमध्ये दुल्लु नगरपालिका ऐतिहासिक तथा भौगोलिक हिसाबले महत्वपूर्ण नगरपालिका मानिन्छ । यस नगरपालिकामा हाल १३ वटा वडा रहेका छन् । गणतन्त्रपछि बनेका दुई वटा स्थानीय सरकार सञ्चालन भइसकेका छन् भने २०७९ मा निर्वाचित हालको स्थानीय सरकारले तीन वर्ष पूरा गरिसकेको छ । यस अवधिमा नगरले गरेका काम र भविष्यको योजनाबारे ज्वाला सन्देशकर्मी डम्बर विश्वकर्माले नगर प्रमुख भरत प्रसाद रिजालसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश:
पदभार ग्रहण गरेपछि नगरमा देखिने गरी के–के काम गर्नुभयो ?
हामीले २०८१ वैशाखमा चुनाव जित्यौँ । दुई महिना नबित्दै वर्षायाम सुरु भयो । त्यतिबेला दुल्लुमा ३ किलोमिटर बाहेक सबै सडक कच्ची थिए । मेरो आफ्नै वडामा गोरुले गाडी तानेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको थियो । अहिले भने तल्लो डुङ्गेश्वर–नाउले सडकको ५.५ किमि बाहेक सबै सडक कालोपत्रे भइसकेका छन् । दुल्लुघिया–तिदु सडकमा धमाधम कालोपत्रे भइरहेको छ ।
रातिमाटा–छिउडी विनायक हुँदै माथिल्लो डुङ्गेश्वर सडकखण्डको अधिकांश काम सम्पन्न भइसकेको छ भने बाँकी काम वर्षा रोकिएलगत्तै पूरा हुनेछ । सातखम्ब-नाविस्थान सडक, गमौडी–सिरिस्थान सडक स्तरवृद्धि, नाविस्थान–सिरिस्थान जोड्ने पक्की पुल, ७ वटा झोलुङ्गे पुल निर्माण लगायत देखिने धेरै कामहरु सम्पन्न भएका छन् ।
स्वास्थ्य सेवाको अवस्था कस्तो छ ?
पहिले नगर अस्पतालमा १ जना मात्र एमबीबीएस डाक्टर हुनुहुन्थ्यो । अहिले ६ जना डाक्टरसहित अपरेसन थिएटर, मेसिन, आईसीयू भवनको निर्माण भइरहेको छ । प्रत्येक वडामा स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र प्रसूति गृह स्थापना भएका छन् । दुल्लु नगर अस्पताल अहिले नगरपालिकाकै व्यवस्थापनमा सञ्चालन भइरहेको छ र यहाँ साना–ठूला सबै अपरेसन हुने गरेका छन् । प्रदेश सरकारले सञ्चालन गर्ने जिल्ला अस्पतालभन्दा हामीले अझ बढी सेवा दिइरहेका छौँ ।
यद्यपि, स्वास्थ्य सेवाले ठूलो खर्च बोकेको छ- करिब ५५ लाख घाटा र ३५ लाख तलब दिन बाँकी छ । तर, जनतालाई स्वास्थ्य सेवा दिन निरन्तर प्रयत्न गरिरहेका छौँ ।
शिक्षा क्षेत्रमा के प्रगति भएको छ ?
विगत तीन वर्षमा २३ वटा विद्यालयमा १ करोडभन्दा माथिका ठूला पक्की भवनहरु निर्माण गरिसकेका छौँ । भानु मावि, सूर्यदय मावि, सरस्वती मावि, भानेश्वर मावि, मौरिकोट आवि, मष्टानारायण आवि, विजय मावि, महेन्द्र जयदेवी मावि, धुलेश्वर आवि, नेरा मावि लगायतका विद्यालयमा नयाँ भवन बनेका छन् । यससँगै विद्यार्थीको शैक्षिक स्तर उकास्न कक्षा ८, ९ र १० मा अतिरिक्त कक्षा सञ्चालन, शिक्षक–विद्यार्थी लक्षित तालिम, बालमैत्री क्लब गठन, र बालमैत्री सिकाइमा जोड दिएका छौँ ।
कृषि क्षेत्रमा के–कस्तो काम भएको छ ?
दुल्लु पहिलेदेखि नै उत्पादनमुखी क्षेत्र हो । हामीले कृषि र पशुपालनलाई प्रोत्साहन गर्न २ करोड रुपैयाँ बराबरका कृषि सामग्री वितरणको तयारी गरेका छौँ । भकारो सुधार कार्यक्रम, उन्नत बोका–वाख्रा वितरण, खोर व्यवस्थापन, अर्गानिक कृषि तालिम, विषादी रहित उत्पादनमा जोड लगायतका काम गरेका छौँ । यसका लागि जिल्ला कृषि कार्यालय, पशु कार्यालय, सोसेक नेपाल, डिसिय नेपाललगायत संस्थासँग सहकार्य गरिरहेका छौँ ।
युवाहरुलाई लक्षित गरेर के-कस्ता कार्यक्रम भइरहेका छन् ?
हामीले युवा नीति पारित गरेका छौँ । पहिले खेलकुदमै सीमित कार्यक्रम हुने गरेका थिए भने अब सिप विकास, स्वरोजगार र सिकाइमुखी कार्यक्रमहरु सञ्चालन गर्ने योजना छ । यसले युवालाई विदेशिनु भन्दा आफ्नै गाउँमा केही गर्न प्रेरित गर्ने विश्वास छ ।
नियमित सेवा प्रवाह कस्तो छ ?
हाम्रो नगरपालिका प्रदेशकै तीन पालिकामध्ये एक हो जहाँ एकीकृत सेवा प्रवाह केन्द्र सञ्चालन गरिएको छ । टोकन प्रणाली लागू भएको छ जसले सेवाग्राहीलाई सजिलो भएको छ । पछिल्लो समीक्षामा ९८ प्रतिशत सेवाग्राही सन्तुष्ट देखिएका छन् । साथै त्रैमासिक सार्वजनिक सुनुवाइ र सूचना प्रवाहमा विशेष ध्यान दिएका छौँ ।
आगामी प्राथमिकता के हो ?
शिक्षा, स्वास्थ्य र यातायातलाई मुख्य प्राथमिकता दिनेछौँ । दुल्लुका सबै सडकहरु कालोपत्रे गर्न पाउँदा मात्र मेरो कार्यकाललाई पूर्ण सफल ठहरिनेछ भन्ने विश्वास छ ।
प्रतिक्रिया