हुम्लाबाट छुटेको ट्रकबाट ८ करोड बराबरको भेप बरामद

सुर्खेत - दैलेखको आठबीस नगरपालिका–६ खिड्कीजिउलामा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले संयुक्त रूपमा नियन्त्रणमा लिएको ट्रक (ना.अ.प.आ. ८३) बाट ३९ हजार ९०० थान विद्युतीय चुरोट (भेप) बरामद भएको छ।
हुम्लाको डिभिजन वन कार्यालय, सिमकोटले सेतकचिनी (जडीबुटी) भनेर टाँचा लगाइएको ट्रक खोल्दा जडीबुटीभित्र भेप भेटिएको हो । बरामद भेपको न्यूनतम मूल्यांकन ८ करोड रुपैयाँ गरिएको छ।
घटनामा संलग्न तीन जना ट्रकमै सवार व्यक्तिलाई पक्राउ गरिएको छ। बरामद भेप नेपालगन्ज हुँदै भारत तस्करी गर्ने योजनामा रहेको प्रारम्भिक अनुमान अनुसन्धान टोलीको छ।
वन कार्यालयका कर्मचारीदेखि अन्य शक्तिशाली व्यक्तिसम्म संलग्न हुनसक्ने आशंका गरिएको छ। कैलाश ईश्वर जडीबुटी खरिद बिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाको नाममा ५ हजार किलो सेतकचिनी उल्लेख गरी जाँचपास दिइएको खुलेको छ।
यसअघि पनि यही मार्ग प्रयोग गरी तस्करी भएको हुनसक्ने शंका छ। भेप नेपाल–भारत दुवैमा प्रतिबन्धित भएकाले यसविरुद्ध कारबाही कडा पारिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले जनाएका छन्।
प्रतिक्रिया