वार्षिकोत्सवको अवसरमा बालविवाह विरुद्ध र्‍याली तथा हस्ताक्षर अभियान सम्पन्न

वार्षिकोत्सवको अवसरमा बालविवाह विरुद्ध र्‍याली तथा हस्ताक्षर अभियान सम्पन्न

जुम्ला  -  सोसेक नेपालको २८औँ वार्षिकोत्सवको अवसरमा जुम्लाको चन्दननाथ नगरपालिकामा बालविवाह विरुद्ध र्‍याली तथा हस्ताक्षर अभियान  सम्पन्न भएको छ।

एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजना जुम्लाको आयोजना तथा चन्दननाथ नगरपालिका, चन्दननाथ नमुना माध्यमिक विद्यालय, जिल्ला प्रहरी कार्यालय र नगर बाल–सञ्जालको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो । सहभागीहरूले बालविवाह विरुद्ध नारा लगाउँदै बजार परिक्रमा गरेका थिए  ।

र्‍यालीपछि आयोजित कार्यक्रममा बालविवाह रोकथामका लागि सामूहिक प्रतिबद्धता जनाउँदै हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजु सिंह कठायतले विद्यार्थीहरूले बिदाको दिनमा समेत सक्रिय सहभागिता जनाएर अभियान सफल बनाएकोमा धन्यवाद दिए । उनले भने, “सोसेक नेपालले चन्दननाथ नगरपालिकाका ६ वटै वडामा उत्कृष्ट काम गर्दै आएको छ। यस अभियानलाई सबै वडामा विस्तार गर्न सके अझ प्रभावकारी हुने थियो।”

कठायतले सोसेक नेपाललाई २८औँ वार्षिकोत्सवको शुभकामना दिँदै आगामी दिनमा अझ राम्रो काम गर्ने विश्वास व्यक्त गरे। त्यस्तै  नगर उप-प्रमुख रामदेवी खड्काले सोसेक नेपालले नगरपालिकाको कामलाई सहज बनाएको र बालबालिका तथा महिला सुरक्षामा महत्वपूर्ण योगदान दिएको बताइन् । उनले भनिन्, “सोसेक नेपालले हाम्रो आधा जिम्मेवारी कम गरिदिएको छ। जोखिममा रहेका बालबालिकाको निष्पक्ष डाटा संकलन गरी समन्वय गरेको खण्डमा हामी पनि मिलेर सहयोग गर्नेछौँ ।”

उनले ट्रान्जिट होम सेफ हाउस सञ्चालनमार्फत जोखिममा रहेका महिला र बालबालिकालाई सुरक्षित आवास, मनोपरामर्श सेवा र न्यायको पहुँच सहज भएको बताइन् । साथै, विद्यालय जान नपाएका तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेकोमा आभार व्यक्त गरिन् ।


 

प्रतिक्रिया