अछाममा प्रहरीद्वारा १९ छाउगोठ भत्काइयो, अभियान निरन्तर

अछाममा प्रहरीद्वारा १९ छाउगोठ भत्काइयो, अभियान निरन्तर

अछाम - अछाममा प्रहरीले छाउपडी प्रथाविरुद्धको अभियानलाई तीव्र बनाउँदै १९ वटा छाउगोठ भत्काएको छ। महिलामाथि हुने अमानवीय प्रथा अन्त्यका लागि स्थानीय तह, प्रहरी र सरोकारवाला निकायहरू सक्रिय बनेपछि यो अभियान अघि बढाइएको हो।

प्रहरीका अनुसार पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानी चुरखोली टोलमा महिनावारी भएका कारण त्रिपालमुनि बस्दै आएकी २८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ढुङ्गा खस्दा मृत्यु भएपछि अभियानलाई अझ सशक्त बनाइएको हो । सोही घटनामा रत्नकला भण्डारी घाइते भएकी छन्।

पछिल्लो तथ्यांकअनुसार विगत १० वर्षमा अछाम जिल्लामा मात्रै छाउपडीका कारण १४ जना महिलाले ज्यान गुमाइसकेका छन्। मृतकमा पार्वती बुढा (तुर्माखाँद, जेठ २६, २०७५), गौरी बुढा (तुर्माखाँद, पुस २४, २०७४), रोशनी तिरुवा (गाज्रा, असार २०७३), डम्मरा उपाध्याय (तिमिल्सेन, मंसिर ४, २०७३), शर्मिला भुल (रिडिकोट, पुस ४, २०६९) रहेका छन्। त्यस्तै लक्ष्मी बुढा, झुमादेवी शाही, डिक्रादेवी ढकाल, रतनदेवी विक, झुप्री ढोली, पार्वती दमाई, हंसा जैसी र हंसदेवी जोशी पनि छाउपडी प्रथाकै कारण ज्यान गुमाएका थिए ।

अछाम प्रहरी प्रमुखका अनुसार सुरक्षित महिनावारी अभ्यास गर्न समाजलाई सचेत गराउँदै छाउपडीलाई जरा उखेल्न अभियान निरन्तर रहने बताए । “महिला र बालिकाको ज्यान जाने अवस्था अन्त्य गर्न हामी सतत रूपमा छाउगोठ भत्काउने र सचेतना फैलाउने काममा छौं,” उनले भने ।

सामाजिक कार्यकर्ता र सरोकारवालाले समेत छाउपडी अन्त्यका लागि कानूनी कार्यान्वयनसँगै शिक्षा, जनचेतना र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका छन्।

प्रतिक्रिया