जिल्ला स्तरीय वार्षिक प्रगति समीक्षा सम्पन्न ,उत्कृष्ट पालिकाहरू पुरस्कृत
दैलेख: आर्थिक वर्ष २०८१/०८२ को जिल्ला स्तरीय वार्षिक प्रगति समीक्षा आइतबार जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको छ। कार्यक्रममा दैलेखका ११ वटा स्थानीय तहसहित विभिन्न सङ्घ–संस्था मध्ये सोसेक नेपालले आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने नारायण नगरपालिका, दुल्लु नगरपालिका, भगवती माई गाउँपालिका र गुराँस गाउँपालिकालाई सम्मान गरिएको थियो।
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री गोमता बिकले स–साना कामलाई निरन्तर अगाडि बढाउँदै लैजान सके समाज र राष्ट्र दुवै परिवर्तन हुने उल्लेख गरिइन्। उनले प्रगति विवरण राम्रो देखिएको भए पनि कर्मचारीसँगै किसानलाई पनि प्रोत्साहन स्वरूप पुरस्कृत गर्नुपर्नेमा जोड दिइन्। साथै, स्वास्थ्य बिमामा गरिब वर्ग अझै पछाडि परेको बताउँदै सामाजिक समावेशितामा राज्य गम्भीर बन्नुपर्ने धारणा राखिइन।
कर्णाली प्रदेश सामाजिक विकास समिति सभापति पूर्णबहादुर खत्रीले पालिकाहरूको प्रगति उत्साहजनक रहेको भन्दै आगामी वर्षमा अझ राम्रो काम गरेर पुरस्कृत हुन सबै पालिकालाई सुझाव दिए। त्यसै गरी, सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर केसीले संविधानले तोकेको सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय र सहकार्यलाई व्यवहारमा कार्यान्वयन नगरेसम्म लक्ष्य हासिल गर्न नसक्ने चेतावनी दिए।
नेमकिपाका प्रतिनिधि रत्नबहादुर श्रेष्ठले देशैभर भ्रष्टाचार र बेरुजुको चाङ बढ्दै गएको उल्लेख गर्दै सीमासम्बन्धी संवेदनशील मुद्दामा पनि राज्य उदासीन रहेको आरोप लगाए। जिल्ला समन्वय समितिका सभापति नमराज शाहीले प्रगति समीक्षा सकारात्मक भए पनि बेरुजु फर्छ्योटमा सुधार हुन नसकेको बताए । साथै, दैलेखबाट निर्वाचित जनप्रतिनिधि राजधानीमै सीमित हुने प्रवृत्तिलाई औँल्याउँदै जिल्लाको समस्या समाधानतर्फ जिम्मेवार बन्न आग्रह गरे। बैठकमा पालिकाहरूले बजेट कार्यान्वयन, विकास परियोजना सञ्चालन, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा देखिएका चुनौतीबारे आफ्ना धारणा राखेका थिए।
प्रतिक्रिया