संघ संस्था ऐन २०८२ विरुद्ध नागरिक समाजको आपत्ति

दैलेख: मानव अधिकार, सामाजिक रूपान्तरण र सामुदायिक विकासमा सक्रिय रहेका नागरिक तथा सामाजिक संघ–संस्थाहरुले नेपाल सरकारले ल्याएको “संघ संस्था ऐन, २०८२” को मस्यौदा खारेज गर्न माग गरेका छन्।
नागरिक समाजका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन २०१८, संस्था दर्ता ऐन २०३४ र समाज कल्याण ऐन २०४९ लाई एकीकृत गरी “संघ संस्था ऐन, २०८२” को मस्यौदा सार्वजनिक गरेको भए पनि यसले नागरिक संघ संस्थाको योगदानलाई कमजोर बनाउने खतरा देखिएको छ।
लोकतन्त्रका मुख्य सरोकारवाला रहेका संघ–संस्थाहरूलाई राज्यले प्रमुख विकास साझेदारका रूपमा १६औं पञ्चवर्षीय योजना र नीतिगत कार्यक्रममार्फत पहिचान गरेको भए पनि, सरोकारवालाको सहभागिता बिना आएको यो ऐन एकतर्फी भएको भन्दै पहिलो दृष्टिमा खारेज योग्य रहेको विज्ञप्तिमा उल्लेख छ।
मस्यौदाका प्रावधानहरूले संस्थाहरूलाई सहजीकरण र सबलीकरण गर्नुको सट्टा नियन्त्रण गर्ने, संस्थाको स्वायत्तता र अधिकार हनन गर्ने, नागरिक सहभागिता र स्वतन्त्रतामाथि प्रहार गर्ने भन्दै आपत्ति जनाइएको छ। साथै, लोकतान्त्रिक मूल्य–मान्यता, संवैधानिक अधिकार, नागरिक स्वतन्त्रता, समावेशिता र पारदर्शिताको साझा मूल्यलाई कमजोर बनाउने भएकाले तत्काल पुनःलेखन गरी त्रुटि सच्याउन गृह मन्त्रालयलाई अपिल गरिएको छ।
प्रतिक्रिया