बीमितको हित प्रवर्द्धनसम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बीमितको हित प्रवर्द्धनसम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत - बीमितको हित प्रवर्द्धनसम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिमा प्राधिकरण प्रदेश कार्यालय सुर्खेतद्वारा आइतबारदेखि आयोजित ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण’ कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

बिमा प्राधिकरणका कार्यकारी प्रमुख सुशीलदेव सुवेदीले बीमितको हित प्रवर्द्धनबाट मात्र बिमामा आकर्षण बढ्ने बताएका छन् । उनले पछिल्लो समय कर्णाली प्रदेशका जनतामा बिमाका विषयमा सचेतना फैलिनुका साथै उनीहरू जागरुक भएका धारणा राखे  ।  

कार्यकारी प्रमुख सुवेदीले प्राधिकरणका नयाँ प्रावधान र निर्देशिकाका विषयमा सुसूचित र सचेत गर्ने उद्देश्यले प्रशिक्षण दिइएको बताए  । बिमा कम्पनीले गरेका काम सराहनीय भएका उल्लेख गर्दै उनले नागरिकमा विश्वास दिलाउँदै जोखिम बहन हुने कामप्रति प्रतिबद्ध भएर लाग्नसके नागरिकमा आशा, सचेतना र सुनिश्चिता बढ्ने धारणा राखे  ।

प्राधिकरणका नियमन तथा सम्पत्ति शुद्धीकरण, निवारण शाखाका प्रमुख पदमप्रसाद सोडारीले बिमासम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन, प्रावधान, सम्पत्ति शुद्धीकरण प्रणालीको मुख्य उद्देश्य, बिमाका जोखिम, समस्या, ग्राहक पहिचान, प्राविधिक ज्ञान, स्रोत तथा मानव जनशक्ति, प्राधिकरणबाट जारी निर्देशनका बारेमा प्रस्तुति राखे  । उनले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीसम्बन्धी निर्देशन, २०८२ मा भएका मुख्य व्यवस्थाबारे जानकारी दिए ।

निर्देशनको दफा ३–१२ सम्म नीति तथा कार्यविधि बनाइ लागू गर्नुपर्ने, ग्राहक पहिचान तथा सम्पुष्टि, उच्चपदस्थ व्यक्ति, वास्तविक धनी, बृहत्, सरलीकृत ग्राहक पहिचान, विद्यमान तथा वास्तविक धनी पहिचान अद्यावधिक, निरन्तर अनुगमन, सीमा कारोबारसम्बन्धी प्रतिवेदन, खास कारोबारमा विशेष ध्यान दिनुपर्नेलगायत विषयमा सहभागीलाई उनले सूचित गरे । 

छलफल कार्यक्रममा आइतबार बैंक तथा वित्तीय संस्थाका प्रमुखको र सोमबार सजीवन तथा नीर्जिवन बिमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, पोलिसी जारीकर्ताको सहभागी रहेको थियो । 

प्रतिक्रिया