नेपाली सेनाको पहलमा खुल्यो कर्णाली राजमार्ग

नेपाली सेनाको पहलमा खुल्यो कर्णाली राजमार्ग

सुर्खेत -  कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग  नेपाली सेनाको पहलमा खुलेको छ।  गत भदौ १४ गतेदेखि कालिकोटको शुभकालिका गाउँपालिका- १ गगने खोलामा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो। अविरल वर्षापछि आएको भीषण ढुंगासहितको पहिरोले अबरुद्ध राजमार्ग ४ दिनपछि सञ्चालनमा आएको छ।

कालिकोटको देवी बक्स गुल्मबाट नेपाली सेनाका सहायक सेनानी सानुराम कार्कीको नेतृत्वमा १० जनाको समूह राजमार्ग सुचारु गर्न खटिएको थियो। 

सडक सुचारु गर्न नेपाली सेनाको टोली मंगलबार बिहान ११ः४५ बजे गगने खोला पुगेको थियो। १२ बजेबाट राजमार्गको अवरोध हटाउन सुरु गरेको थियो। त्यसपछि १२ः४५ बजेबाट कर्णाली राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएको हो। 

सडक अवरुद्ध भएको दिनदेखि नै जिल्ला प्रशासन कार्यालय कालिकोट, स्थानीय तथा नेपाल प्रहरीले बाटो सुचारुका लागि पहल थालिएको थियो।  सडक सुचारु भएपछि रोकिएका स्याउका ट्रक, सार्वजनिक यातायात तथा नीजि सावारीहरु तथा ५ सय भन्दा बढी यात्रुहरु गन्तव्यतर्फ लागेका छन्। 

जुम्लाका स्याउ व्यापारी नरबहादुर बोगटीले सडक अवरुद्ध हुँदा ४० वटा स्याउका ट्रक बाटोमै रोकिएको जानकारी दिए। उनले प्रत्येक ट्रकमा ९० क्वीटनलदेखि १०० क्वीनटल सम्म स्याउ रहेको बताए। 

प्रतिक्रिया