छाउपडी अन्त्यका लागि ठोस पहल गर्न सांसद रानाको आग्रह

छाउपडी अन्त्यका लागि ठोस पहल गर्न सांसद रानाको आग्रह

काठमाडौँ -   प्रतिनिधि सभा सदस्य सिता कुमारी रानाले मानव सभ्यतालाई लज्जित बनाइरहेको छाउपडी प्रथाको तत्काल अन्त्यका लागि ठोस कदम चाल्न सरकार र संसदलाई आग्रह गरेकी छन् ।

बुधवारको संसद बैठकमा बोल्दै उनले छाउपडी प्रथा कानुन र सामाजिक दुवै दृष्टिले अपराध मानिए पनि देशका विभिन्न स्थानमा अझै पनि महिलामाथि यो अमानवीय व्यवहार जारी रहेको बताइन् । रानाले भनिन्, “हामी संसदमा विकास, समृद्धि र समाजवादका दमदार नाराबारे चर्चा गरिरहेका छौँ तर अर्कोतर्फ छाउगोठमा बस्न बाध्य कमला आउजी र निम खनालजस्ता महिलाको जीवन खोसिँदै छ ।”

उनले सरकारी दस्ता प्रयोग गरेर मात्र छाउगोठ भत्काउने काम दीगो नहुने उल्लेख गर्दै छाउपडी अन्त्यका लागि व्यावहारिक र प्रभावकारी पहल आवश्यक भएकोमा जोड दिइन् ।

रानाले छाउपडी प्रथा नियन्त्रणका लागि तीनवटा उपाय तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिइन् । सामाजिक सुरक्षा भत्ता प्रदान गर्दा स्थानीय जनप्रतिनिधिको लिखित सिफारिस अनिवार्य गर्ने । विद्यार्थी भर्ना गर्दा सोही किसिमको सिफारिस लिनुपर्ने। समावेशी सुविधा उपभोग गर्दा पनि यस्तो सर्त राख्नुपर्ने बताएकी छन् । 

उनले संसदबाट यस्ता नीतिगत प्रावधानलाई अनिवार्य बनाए मात्र छाउपडी प्रथाको दीगो अन्त्य सम्भव हुने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया