शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै दैलेखका निजी विद्यालय आन्दोलित

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै दैलेखका निजी विद्यालय आन्दोलित

दैलेख -  विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै दैलेखका निजी विद्यालयहरूले सडक आन्दोलन गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) को संयुक्त आयोजनामा दैलेख सदरमुकाममा र्‍याली सहित प्रदर्शन गरिएको हो ।

सञ्चालक, शिक्षक र कर्मचारीहरू ब्यानर र प्लेकार्डसहित सडकमा उत्रिएर विधेयकका विवादास्पद प्रावधान खारेज गर्न माग गरेका थिए। प्याब्सनका केन्द्रीय सदस्य सुवास कुमार थापाले हालको विधेयकमा समावेश ‘पूर्ण छात्रवृत्ति’ को व्यवस्था व्यावहारिक नभएको भन्दै हटाउनुपर्ने बताए । साथै विद्यालयमै उत्पादन नहुने सामग्री—जस्तै पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना र खाजा उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गर्नुपर्ने उनले जोड दिए ।

थापाले कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर–नाफामूलक’ बनाउने प्रस्ताव शिक्षा क्षेत्रमा निजी लगानीविरुद्धको कदम भएको भन्दै त्यसलाई पनि सच्याउन माग गरे ।

आन्दोलनमा संलग्न शिक्षक तथा सञ्चालकहरूले शिक्षा क्षेत्रलाई नीतिगत रूपमा नियन्त्रण गर्ने प्रयास सफल नहुने चेतावनी दिँदै, आवश्यक परे थप कडा आन्दोलन गर्ने बताएका छन्।

प्रतिक्रिया