दुल्लुका बालिकालाई बाख्रा वितरण

दैलेख - दैलेखको दुल्लु नगरपालिकामा युनिसेफ नेपालको सहयोग र दुल्लु नगरपालिकाको आयोजना सोसेक नेपालद्वारा सञ्चालित बालिका सशक्तिकरण परियोजना सहजीकरणमा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागि ११ जना बालिकालाई २० वटा वाख्रा र १ वटा बोका सहित २१ वटा पशु हस्तान्तरण गरिएको हो । वाख्रा हस्तान्तरण गर्दै नगरप्रमुख भरत प्रसाद रिजालले विगतदेखि नै विभिन्न संघ–संस्थाको सहकार्यमा वाख्रा वितरण हुँदै आएको भए पनि यसलाई अझ व्यवस्थित र दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले यसपटक वितरण गरिएका वाख्राहरू राम्रोसँग पालनपोषण हुने र बालिकाको आत्मनिर्भरता अभिवृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । साथै, सहयोगी साझेदार संस्थाप्रति धन्यवादसमेत दिए ।
वाख्रा वितरण कार्यक्रममा पशु विकास अधिकृत विकास पाठक, सोसेक नेपाल दैलेखद्वारा सञ्चालित बालिका सशक्तिकरण परियोजनाका मिल अफिसर विष्णु कोईराला, कार्यक्रम अधिकृत धिर्जा सिजापती र प्राविधिक डम्बर के.सी.को उपस्थिति थियो।
सोसेक नेपालका अनुसार बाख्रा वितरणले ग्रामीण बालिकाहरूलाई आयआर्जनमा सहयोग पुग्ने मात्र नभई उनीहरूको सामाजिक तथा आर्थिक सशक्तिकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया