रेडक्रस स्वतन्त्र हुनुपर्छ: सभापति खत्री

दैलेख: कर्णाली प्रदेश सरकारका सामाजिक विकास सभापति, कर्णाली प्रदेश सभा सदस्य माननीय पूर्ण खत्री ९चालिसे०ले रेडक्रस स्वतन्त्र हुनुपर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा दैलेखमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बोल्दै सभापति खत्रीले रेडक्रस स्वतन्त्र हुनुपर्ने बताएका हुन्।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै सामाजिक विकास समितिका सभापतिले रेडक्रस एक पवित्र संस्था भएको बताए । उनले भने ‘रेडक्रस जस्तो पवित्र संस्था दुनियाँमा कुनै छैन दुनियाँमा रेडक्रस नै त्यस्तो संस्था हो, जुन युद्धग्रस्त क्षेत्रमा पनि बिना रोकटोक जाने र निष्फिक्री तरिकाले पीडितहरूको सेवा गर्ने अनुमति पाउँछ । कुनै पनि अवस्थामा पीडित भई जीवन र मरणको दोसाँधमा रहेका व्यक्तिहरूलाई हरतरहले सेवा गर्ने र जस्तोसुकै सङ्कटकाल किन नहोस्, युद्ध मैदानमै गई निःस्वार्थ तवरले सेवा पुर्याउने विश्वकै विश्वसनीय संस्था नै रेडक्रस हो ।रेडक्रस स्वयंसेवा गर्न इच्छुक व्यक्तिहरू संलग्न भई ‘म सेवा गर्छु भन्ने पवित्र भावनाले काम गर्ने व्यक्तिहरूको साझा मञ्च भएकोले यसलाई स्वतन्त्र रूपमा काम गर्न दिनपर्ने हो पछिल्लो समयमा त्यो हुन नसकेको उनको भनाइ छ ।
कार्यक्रमको विशेष अतिथिका रूपमा आफ्नो भनाइ राख्दै दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले रेडक्रसले गर्ने कामहरूमा सहयोग रहने बताए । उनले रेडक्रसले गर्ने कामहरू सबै मानवताका लागि भएकोले सबै मिलेर राम्रो बनाउनुपर्ने, स्वयंसेवा गर्नेलाई यसमा जोड्नुपर्ने भनाइ राखे ।
कर्णाली यूथ फर ब्लडका संस्थापक अध्यक्ष प्रकाश बुढाले रक्तदान नै जीवन दान भएको बताए ।उनले समाजमा अहिले पनि रगत दान गरे वा कसैलाई दिए कमजोर भइन्छ भन्ने मान्यता रहेकोले चेतनाका कार्यक्रम पनि सञ्चालन गर्न आवश्यक रहेको धारण राख्दै, आफूले अहिलेसम्म २२औँ पटक रक्तदान गरिसकेको बताए ।
कार्यक्रमको समापनमा बोल्दै नेपाल रेडक्रस सोसाइटी दैलेखका सभापति निरन्जन खत्रीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै रेडक्रसलाई सबैले सहयोग गर्नुपर्ने बताए । रेडक्रसको कार्यक्रममा थप टेवा राष्ट्रिय युवा संघ नेपाल जिल्ला शाखा दैलेखले पुर्याएक छ । युवा संघले ”रक्तदान,जीवनदान” भन्ने नारा सहित बिहीबार कार्यक्रम गरेको छ ।
मानवताको पक्षमा रेडक्रस भन्ने मूल मन्त्र सहित नेपाल रेडक्रस दिवस यस वर्ष पनि भाद्र १९ गतेका दिन नेपालभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। विसं २०२० भाद्र १९ गते नेपालमा स्थापना भएको नेपाल रेडक्रसको यस पटक ६३औँ स्थापना दिवस मनाइँदै छ । विशुद्ध मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको यो संस्थाको फरक खालको गरिमा रहेको छ ।
प्रतिक्रिया