दुल्लुमा स्वास्थ्य संस्थाहरूको वार्षिक प्रगति तथा समीक्षा गोष्ठी सम्पन्न

दैलेख - दुल्लु नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रगति प्रस्तुतिकरण तथा आगामी वर्षका लागि दुई दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।
दुल्लु नगरपालिकाका नगर प्रमुख भरत प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १ वटा अस्पताल, ९ वटा स्वास्थ्यचौकी, ४ वटा आधारभूत स्वास्थ्य केन्द्र, १ वटा आयुर्वेदिक औषधालय तथा स्वास्थ्य क्षेत्रमा सक्रिय साझेदार संस्था सोसेक नेपाल दैलेख, एभरेष्ट क्लब दैलेख (अन हर्ड वल्ड वाईड) र आईपास नेपालका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
गोष्ठीमा स्वास्थ्य संस्थाहरूले मातृ तथा नवजात शिशु सेवा, खोप तथा पोषण, सुरक्षित गर्भावस्था, परिवार नियोजन तथा नियमित स्वास्थ्य सेवा प्रवाहलगायत विषयमा प्रगति विवरण प्रस्तुत गरेका थिए। नगर प्रमुख रिजालले स्वास्थ्य सेवा मानव जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले भौतिक पूर्वाधार, स्वास्थ्य सामग्री, जनशक्ति र गुणस्तरीय सेवा विस्तारलाई नगरले प्राथमिकताका साथ अगाडि बढाइरहेको बताए। उनले प्रदेश तथा संघीय सरकारसँग पनि थप सहयोगको अपेक्षा गरिएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी निर्वाहमा अझ समर्पित भइ काम गर्ने विश्वास व्यक्त गरे।
सो अवसरमा सामाजिक विकास समितिका सभापति लिलाराम लम्सालले स्वास्थ्य क्षेत्र सामाजिक विकासको आधार भएकाले सबैको भूमिकालाई संवेदनशील र जिम्मेवार बनाउनु पर्नेमा जोड दिए।
गोष्ठीमा निमित्त प्रशासकीय अधिकृत डा. विशाल पाठक, स्वास्थ्य सेवा कार्यालय दैलेखका मेडिकल रेकर्डर प्रकाश अधिकारी र दुल्लु नगरपालिका स्वास्थ्य शाखा प्रमुख शुसिल शाहीले स्वास्थ्य संस्थाहरूको प्रगति विवरणको मूल्याङ्कन, देखा परेका चुनौती तथा आगामी वर्षका योजनाबारे छलफल तथा सहजीकरण गरेका थिए।
कार्यक्रमकै क्रममा मातृ–शिशु स्वास्थ्य, खोप, पोषण, सुरक्षित गर्भवती सेवा र दैनिक आवश्यक स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा दुल्लु–११ कालभैरव स्वास्थ्य चौकी, दुल्लु–४ डाँडाआवत आधारभूत स्वास्थ्य केन्द्र र दुल्लु–३ सियाला स्वास्थ्य क्लिनिकलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णुबहादुर शाहीले जानकारी दिए।
प्रतिक्रिया