बाहुनधारा खानेपानी आयोजना उपभोक्ता समितिको दोस्रो साधारणसभा सम्पन्न

बाहुनधारा खानेपानी आयोजना उपभोक्ता समितिको दोस्रो साधारणसभा सम्पन्न

दुल्लु -  दैलेखको दुल्लु नगरपालिका–५ मा बाहुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारणसभा सम्पन्न भएको छ । दुल्लु नगरपालिका, सोसेक नेपाल दैलेख र हेल्भेटास नेपालको सहकार्यमा सम्पन्न भएको हो ।

झण्डै ६ वर्षअघि सम्पन्न बाहुनधारा लिफ्टिङ खानेपानी आयोजना अहिले सञ्चालनमा रहेकाले यसको दिगोपनाबारे सभामा छलफल भएको थियो । कार्यक्रममा दुल्लु नगरपालिका खानेपानी बोर्डका अध्यक्ष भगवतः हमालले योजना दिगो र प्रभावकारी बनाउन उपभोक्ताको सक्रिय सहभागिता र सरसफाइका सूचकहरूको पालना आवश्यक हुने बताए ।

त्यस्तै, वडा नं ५ का पूर्व वडाध्यक्ष प्रेमबहादुर थापाले आफ्नै पालामा आयोजना सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै पछिल्लो चरणमा व्यवस्थापनप्रति वडा स्तरमा देखिएको वेवास्ता र उदासिनताप्रति दुःख प्रकट गरे।

कार्यक्रममा दुल्लु नगरपालिका–६ को जयदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक उदयराज उपाध्यायले बाहुनधारा खानेपानी योजना नगरकै उत्कृष्ट योजनामध्ये एक भएको धारणा राख्दै उपभोक्ता समितिलाई दुल्लु खानेपानी बोर्डले थप सहयोग गर्नुपर्नेमा जोड दिए ।

आर्थिक वर्ष २०८१/८२ मा समितिबाट खर्च गरिएको विवरण सामाजिक परीक्षणमार्फत प्रस्तुत गरिएपछि साधारणसभा सम्पन्न भएको हो । सोसेक नेपाल दैलेखका प्राविधिक नवराज पुरीले उक्त विवरण प्रस्तुत गरेका थिए।

प्रतिक्रिया