शान्तिपूर्ण आन्दोलनमा बालबालिकामाथि दमनप्रति सोसेक नेपालद्वारा गम्भीर चिन्ता

काठमाडौँ - सोमबार जेनजीको नेतृत्वमा भएको शान्तिपूर्ण आन्दोलनमा १८ वर्षमुनिका बालबालिका समेत सहभागी भइरहेका बेला राज्य पक्षबाट भएको दमनप्रति सोसेक नेपालले गम्भीर चिन्ता व्यक्त गरेको छ।
संस्थाले विज्ञप्ति जारी गर्दै बालबालिकाको हकहित सुनिश्चित गर्ने दायित्व राज्यकै भए पनि उनीहरू सहभागी भएको कार्यक्रममा बल प्रयोग गर्नु निन्दनीय र अस्वीकार्य भएको उल्लेख गरेको छ। नेपालले सन् १९८९ को बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरिसकेको अवस्थामा यस्तो दमनले अन्तर्राष्ट्रिय प्रतिवद्धताको समेत उल्लङ्घन भएको सोसेकले जनाएको छ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले एक विज्ञप्ति जारी गर्दैयस प्रकारको घटनाले लोकतान्त्रिक अभ्यासमा चोट पुर्याउनुका साथै बालबालिकामा दीर्घकालीन मनोवैज्ञानिक असर पर्ने सम्भावना उच्च छ ।
विज्ञप्तिमा आन्दोलनका क्रममा घाइते भएका बालबालिका तथा अन्यलाई तत्काल उपचारको व्यवस्था गर्न, अन्यायपूर्ण रूपमा पक्राउ परेकाहरूलाई तुरुन्त रिहा गर्न र भविष्यमा बालबालिकाको सहभागिता हुने सार्वजनिक कार्यक्रममा सुरक्षा निकायको दमनकारी हस्तक्षेप दोहोरिन नदिने सुनिश्चितता गर्न सरकारसँग माग गरिएको छ।
प्रतिक्रिया