दुल्लुमा युनिसेफद्वारा सहकारीको अनुगमन

दुल्लु - दुल्लु नगरपालिका–५ स्थित वरपिपल महिला बचत तथा ऋण सहकारी संस्था युनिसेफ नेपालले अनुगमन गरेको छ।
दुल्लु नगरपालिकाले सञ्चालन गर्दै आएको सुनौला हजार दिन कार्यक्रमअन्तर्गत आमा र बालबालिकाको पोषण सुदृढ बनाउन युनिसेफले आर्थिक सहयोग गर्दै आएको छ। उक्त कार्यक्रमअन्तर्गत सहकारीमा आवद्ध २५ आमा सदस्यलाई वाख्रा र कुखुरा खरिद तथा पालनका लागि प्रतिआमा २५ हजार रुपैयाँका दरले नगद सहयोग गरिएको थियो।
अनुगमन तथा सहभागीहरुसँगको छलफलमा युनिसेफ नेपालका प्रमुख मेलकमनेसले महिलाले प्राप्त गरेका उपलब्धि, बच्चा जन्माउने वातावरणमा आएको परिवर्तन तथा वाख्रापालनबाट प्राप्त फाइदा आमा–बच्चाको पोषणमा लगानी भएको वा नभएकोबारे सहभागीहरुसँग जानकारी लिएको बताए ।
कार्यक्रममा दुल्लु नगरपालिकाका सामाजिक विकास संयोजक लिलाराम लम्सालले समितिको भूमिकासहित आमा र बालबालिकाको पोषण सुनिश्चित गर्न वाख्रापालन कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै यसलाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।
यस्तै, कार्यवाहक नगर प्रमुख भरमबहादुर भण्डारीले सहकारीमार्फत प्राप्त सहयोग सही उद्देश्यमा प्रयोग भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र दिगो बनाउन नगरपालिका आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अनुगमनका क्रममा सहभागी महिलाको घरदैलोमा पुगेर प्रत्यक्ष अनुभव लिने कार्यक्रम पनि भएको थियो। कार्यक्रममा दुल्लु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल शाही, महिला शाखा प्रमुख सरिता सिंह, युनिसेफ नेपालका मिना थापा र सेर सिंह दहित, वडा सदस्य मयारा खत्री र तुल्सी नेपालीसहितका जनप्रतिनिधि तथा पत्रकारहरुको समेत उपस्थिति रहेको बहुपोषण कार्यक्रमकी सहजीकरणकर्ता भीमकुमारी वैगाले जानकारी दिइन् ।
प्रतिक्रिया