शान्ति सुरक्षा कायम गर्न सेना परिचालन, अवस्था सामान्य हुदै

शान्ति सुरक्षा कायम गर्न सेना परिचालन, अवस्था सामान्य हुदै सामाजिक सञ्जाल

काठमाण्डौ: हिजो दिनभर र रातिसम्म आगजनी र तोडफोड भएपछि शान्ति सुरक्षा कायम गर्न देशभर नेपाली सेना परिचालन भएको छ । २४ गते राति १० बजेदेखि देशभर सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन भएको हो ।
शान्ति सुरक्षा कायम गर्न र नेपाली नागरिकको रक्षाका लागि खटिएको सेनाले विज्ञप्ति निकालेर जनाएको छ । सेना परिचालन भएसँगै आगजनी, तोडफोड र लुटपाटका घटना रोकिएको छ । काठमाण्डौ उपत्यकासहित देशभरको अवस्था सामान्य बन्दै गएको नेपाली सेनाले जनाएको छ ।
सुरक्षाको दृष्टिले सम्वेदनशील क्षेत्र र सडकमा अहिले नेपाली सेनाले सुरक्षा दिइरहेको छ । लुटपाट र आगजनी गर्नेहरु पक्राउ परेका छन् । काठमाण्डौको बानेश्वरमा राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जना पक्राउ परेका छन् । सेनाले अराजक गतिबिधि नगर्न र गरेमा कारबाही हुने चेतावनी पनि दिएको छ । आफ्नो वरपर आपराधिक तथा अराजक गतिविधि भएमा खबर गर्न पनि सेनाले आग्रह गरेको छ ।
यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति निकालेर अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति पुनस्र्थापनाका लागि सबैलाई सहयोग गर्न आग्रह पनि गरेका छन् । अपिलमा सार्वजनिक शान्ति, अमनचयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानूनी शासन स्थापित गर्नका लागि सहयोग गर्न आग्रह गरिएको छ ।

यस्तै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया