एभरेष्ट क्लब दैलेखको ३२औं साधारण सभा सम्पन्न

एभरेष्ट क्लब दैलेखको ३२औं साधारण सभा सम्पन्न

दैलेख:  एभरेष्ट क्लब दैलेखले आफ्नो ३२औं साधारण सभा तथा संस्थागत वार्षिक सामाजिक परीक्षण विहीबार सम्पन्न गरेको छ । उक्त सस्ंथाले आय,ब्याय सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सम्पुर्ण परियोजनाले गरेका गतिविधिहरु,परियोजनाका उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य सावित्री मल्लले शुभकामना दिँदै संस्थाले सानो क्लबको रूपमा सुरु भएर अहिले समुदाय स्तरमा उल्लेखनीय पहिचान बनाउन सफल भएको बताइन् । उनले संस्थाले अझै भवन निर्माण गर्न नसकेको उल्लेख गर्दै यस विषयमा पहल गर्ने बचन दिइन। 


कर्णाली प्रदेश सभा सदस्य कृष्ण बीसीले एभरेष्ट क्लबले दैलेख जिल्लामा स्वास्थ्य, बालबालिका, बालविवाह न्यूनीकरण र बालअधिकारका क्षेत्रमा प्रभावकारी काम गर्दै आएको बताए । उनले आगामी दिनमा संस्थाले अझ सक्षम र दिगो रूपमा काम गर्न आग्रह गरे । साथै नागरिक समाज, संघ–संस्था र राजनीतिक दलहरूले पनि आफ्ना कमजोरी सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।


सम्पुर्ण राजनितिक दलको तर्फबाट नेकपा एमाले दैलेखका सूर्यबहादुर शाहीले सिमान्तकृत समुदाय र महिला–बालबालिकाको जीवनस्तर उकास्न संस्थाले पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले क्लबले कृषि क्षेत्रमा समेत ध्यान दिनुपर्ने सुझाव दिए ।
उद्योग वाणिज्य महासंघ दैलेखका अध्यक्ष नरेन्द्र थापाले क्लबले सामाजिक क्षेत्रका साथै आर्थिक सशक्तीकरणमा पनि योगदान दिइरहेको उल्लेख गर्दै, “स्थानीय उद्यमीहरूले उत्पादन गरेका वस्तुको बजार व्यवस्थापनमा महासंघले सहयोग गर्नेछ,” भने।
कार्यक्रममा गैसस महासंघ दैलेखका अध्यक्ष डिल कुमारी चन्द, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्मा लगायतका अतिथिहरूले पनि शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमका अध्यक्ष तथा क्लबका अध्यक्ष लछुमन श्रेष्ठले संस्थाले महिला, बालबालिका, अपांगता भएका व्यक्ति र पछाडि पारिएका समुदायको हितमा निरन्तर काम गर्दै आएको बताए। उनले आगामी दिनमा संस्थालाई अझ व्यवस्थित र दिगो रूपमा अघि बढाउने प्रतिबद्धता जनाए । 

एभरेष्ट क्लवले अघिल्लो आर्थिक वर्षमा ७ वटा परियोजना मार्फत ११ करोड ६९ लाख ५९ हजार ६ सय ३८ रुपैंयाँ खर्च भएको कोषाध्यक्ष कमला योगीले जानकारी दिए। कार्यक्रममा परियोजना बारे कार्यकारी निर्देशक दिपक शाही र संस्थागत विकास सवालमा महासचिव यज्ञराज थापाले प्रष्ट्याए ।

प्रतिक्रिया