बालबालिकामा नसर्ने रोग सम्बन्धी सह–सिर्जना कार्यशाला सम्पन्न

बालबालिकामा नसर्ने रोग सम्बन्धी सह–सिर्जना कार्यशाला सम्पन्न

दैलेख: नारायण नगरपालिका भित्रका बालबालिकामा नसर्ने रोगका बारेमा सह–सिर्जना कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम युनिसेफ नेपालको आर्थिक सहयोग, सोसेक नेपालको साझेदारीमा र नारायण नगरपालिकाको सहजीकरणमा व्यावहार परिवर्तनका लागि सामाजिक सहभागिता र परिचालन (एसबिसी) परियोजनाअन्तर्गत सम्पन्न भएको हो।
कार्यक्रम २१ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको थियो। पहिलो दिनमा बिरामीको घरघरमा गई बिरामी र बिरामीको अभिभावक सम्बन्धी रोगको विस्तृत जानकारी र छलफल गरी १२ जनाको नसर्ने रोग लागेका बालवालिकाको सर्भे गरी १२ वटा कथा लेखिएको थियो । बिरामीहरूको पहिचान पहिले नै भइसकेको थियो। नसर्ने रोग लागेका बिरामीको उपचारमा कसरी सहज गर्न सकिन्छ भनेर पालिकाका सबै संयन्त्र छलफल गरी सक्रिय बनाउन सकिन्छ र बिरामी स्वास्थ्यकर्मी विद्यालयका शिक्षक वडाध्यक्ष पालिकाका शाखाहरूको भूमिका सम्बन्धी छलफल गरी कार्ययोजनामा समेत विस्तृत छलफल गरिएको थियो। कार्यक्रम अवधिभरि यस्ता नसर्ने बिरामीहरूलाई कसरी पिन प्लसबाट उपचार र रिफर गरिन्छ र यी नसर्ने रोगबारे जानकारी पनि गराइएको थियो । 


दोस्रो दिन अभिभावक, बालबालिका तथा शिक्षकसँग छलफल गरी रोगका कारण र समाधानका उपायबारे विचार–विमर्श गरिएको थियो। अन्तिम दिनमा भने अभिभावक, जनप्रतिनिधि, स्वयंसेविका, स्वास्थ्यकर्मी र सरोकारवालाबीच रोगथाप, उपचार पहुँच र विपन्न परिवारका बालबालिकाको उपचारमा पालिकाको बजेट परिचालन कसरी गर्ने भन्ने विषयमा कार्ययोजना तयार पारिएको थियो।


कार्यशालाबाट बनेको कार्ययोजनाअनुसार आमा समूह, विद्यालय, बालक्लब, युवा क्लब र टोल विकास समितिहरूले नसर्ने रोगबारे जनचेतना फैलाउने, सडक नाटकमार्फत सन्देश प्रवाह गर्ने र सामाजिक सञ्जालमार्फत पनि जानकारी गर्ने योजना बनाइएको छ।
नारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले भने, “जबसम्म व्यक्तिगत स्वास्थ्य स्वस्थ हुँदैन, तबसम्म समाज पनि स्वस्थ हुन सक्दैन,” भन्दै समुदायस्तरमै स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सबैको भूमिका आवश्यक रहेको बताए।


बिहिबार समापन कार्यक्रममा बोल्दै नगर प्रमुख लोमन शर्माले भने, “व्यवहार परिवर्तनका क्षेत्रमा हामीले निरन्तर काम गरिरहेका छौं। नसर्ने रोग नियन्त्रणमा पनि सबै सरोकारवालाले मिलेर अघि बढ्नु जरुरी छ,” भन्दै पालिकाबाट समुदायस्तरमा पुगेर सहयोग गर्ने प्रतिबद्धता जनाए। तीन दिनसम्म चलेको कार्यशाला कार्यक्रममा नगर उप–प्रमुख तप्ता थापा , वडाअध्यक्ष,स्वास्थ्यकर्मी, पत्रकार, शिक्षक, अभिभावक, बालबालिका, तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो। 

प्रतिक्रिया