ठाटीकाँध गाउँपालिकाको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न
दैलेख - दैलेखको ठाटीकाँध गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा असोज २२ देखि २४ गतेसम्म तीन दिनसम्म कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष देविराम बडुवाल, प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्याय, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखा प्रमुखहरू, वडा सचिवहरू, स्वास्थ्य चौकीका प्रमुखहरू तथा विकास साझेदार संस्थाहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सोसेक नेपालले अघिल्लो आर्थिक वर्षमा गरेको क्रियाकलाप र उपलब्धिहरूको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो ।
समापन सत्रमा सोसेक नेपालका प्रतिनिधि जिबराज रेग्मी, सामुदायिक स्वास्थ्य इकाइ गैरागाउँका प्रमुख समशेरबाबु कठायत, पशु विकास शाखा प्रमुख खगेन्द्र कँडेल, माओवादी केन्द्र ठाटीकाँधका अध्यक्ष निर्मल कुमार रावत तथा वडा नं. २ का वडा अध्यक्ष प्रमे बहादुर लामिछाने मगरले आ–आफ्ना धारणा राख्दै समीक्षा कार्यक्रमबाट प्राप्त सुझावहरूलाई आगामी योजनामा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
गाउँपालिकाले कार्यक्रममा ६ वटै वडा सचिवहरू, ८ वटै स्वास्थ्य संस्थाका प्रमुखहरू र विकास साझेदार संस्थाका प्रतिनिधिहरू-सोसेक नेपाल, एभरेष्ट क्लब लगायतका कर्मचारीहरू गीता नेपाली, उमेश शाही, धनरुप रोकाया, खगेन्द्र कँडेल, दिपक बहादुर रावल क्षेत्री, कल्पना दशौंडी, मानकुमारी शाही, नेमबहादुर खत्री, नेत्रबहादुर थापा, छबिजंग मल्ल, भुवन मलइ मगर, शान्तिकुमारी उपाध्याय, मञ्जु नेगी शाही, रविन्द्र भण्डारी, हरिबहादुर शाही र लोकेन्द्र भण्डारीलाई प्रशंसा पत्र प्रदान गरेको थियो।
त्यस्तै कार्यलय सहयोगी गञ्जबहादुर खत्री र धनबहादुर लामिछाने मगरलाई नगद रु. ७ हजार सहित प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी सबैलाई गाउँपालिकाले आगामी वर्षका योजना र कार्यान्वयनमा थप सक्रिय भई योगदान दिन आग्रह गरेको थियो।
प्रतिक्रिया