राउटे महिलामाथि जबरजस्ती प्रयास गर्ने युवक पक्राउ
सुर्खेत - सुर्खेतको लेकबेशी नगरपालिका–९ चौरासे नजिकैको जंगलमा बस्दै आएको राउटे बस्तीमा शुक्रबार मध्यरात मदिरा सेवन गरी प्रवेश गरेका एक युवकलाई राउटे युवाहरूले नियन्त्रणमा लिएर प्रहरीले पक्राउ गरेको छ।
नगरपालिकाको वडा नम्बर–५ नेटाका राजु रजालीलाई राउटे समुदायका युवाहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । रजालीले मदिरा सेवनपछि बस्तीभित्र एक महिलाको छाप्रोमा जबरजस्ती प्रवेश गरेको बताइन्छ ।
राउटे समुदायमा जोडी शिक्षकका रुपमा कार्यरत लाल बहादुर खत्रीका अनुसार लठ्ठ अवस्थामा रहेका रजालीले एक राउटे महिलामाथि जबरजस्ती गर्न खोजेपछि बस्तीका युवाहरूले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । “महिलाले नै ‘उनी जबरजस्ती गर्न आए’ भनेर सहयोगका लागि चिच्याएपछि युवाहरूले समातेका थिए,” खत्रीले भने ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोनजंग बुढथापा नेतृत्वको प्रहरी टोली शनिबार बिहान बस्तीमै पुगेको थियो । डिएसपी बुढथापाका अनुसार रजालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।
घटनाबारे तथ्यगत जानकारी संकलन गर्न राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोली पनि बस्तीमा पुगेको छ।
राउटे समुदाय दक्षिण एशियाको एक मात्र लोपोन्मुख घुमन्ते आदिवासी जनजाति हो, जसले परम्परागत रूपमा जंगलमा बसोबास गर्दै आएको छ । पछिल्ला वर्षहरूमा उनीहरूका बस्तीमा बाह्य व्यक्तिको आवतजावत बढ्दै जाँदा यस्ता घटनाले समुदायको सुरक्षाप्रति चिन्ता थपिएको छ।
प्रतिक्रिया