पालिका स्तरीय अपाङ्गता भएका ब्यक्तिको हक,अधिकारका लागि १ दिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न
दैलेखः नारायण नगरपालिका दैलेखमा अपाङ्गता भएका व्यक्ति सम्बन्धी काम गर्ने संस्था, पालिका स्तरीय अपाङ्गता समन्वय समिति र जिल्ला स्थित सरोकारवाला बिच अपाङ्गता भएका व्यक्तिहरूका हक अधिकार सम्बन्धी १ दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग एभरेष्ट क्लबद्वारा सञ्चालित पावर परियोजनाको आर्थिक सहयोग, पञ्चकोशि अपाङ्गता मञ्च तथा नारायण नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम गरिएको हो ।
नारायण नगर उपप्रमुख तप्ता थापाले भनिन “अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी निर्णयमा मात्रै सीमित नभई अधिकारहरूको कार्यान्वयनमा जोड दिन आग्रह गरिन् । साथै उनले भौतिक संरचना निर्माण गरी विपद्को बेलामा अति जोखिममा पर्ने भनेको अपाङ्गता भएका व्यक्तिहरू हुन्, त्यसैले विपद् व्यवस्थापन प्रतिकार्य योजना बनाउँदा अपाङ्गताको सहभागिता अनिवार्य हुनुपर्ने बताइन् । थापाले भनिन “पालिकाहरुमा बन्दै गरेका भौतिक संरचनामा विशेष ध्यान दिई भवन, विद्यालय लगायत खानेपानीका संरचनाहरु अनिवार्य पहुँचयुक्त (अपाङ्गमैत्री) हुनुपर्ने” जोड दिइन् ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ऋषिराम उपाध्यायले भने “कानुनमा लेखिएको अधिकार र निणर्यहरु कार्यान्वयन गर्नुपर्ने हाम्रो कर्तव्य हो” । उनले अपाङ्गता भएका ब्यात्तिलाई आफूले पाउने सेवा सुविधाको बारेमा जानकारी अनिवार्य थाहा पाउनुपर्ने बताए ।
पञ्चकोशि अपाङ्गता मञ्च दैलेखका अध्यक्ष कमल बहादुर खड्काले अपाङ्गता क्षेत्रमा भएका मुख्य उपलब्धि, समस्या, गुनासो, अपाङ्गता सम्बन्धी पैरवी, अपाङ्गता समावेशी विकास र उपयुक्त अनुकूलता बारे जानकारी दिए ।
पावर परियोजना जिल्ला संयोजक भुपेन्द्र खत्रीले दैलेख जिल्लामा परियोजनाले गर्ने काम र परियोजनाको लक्ष्य उद्देश्यबारे जानकारी गराउँदै परियोजनाले १३ देखि २४ वर्ष उमेर समूहका किशोरकिशोरी तथा यूवाहरुको जीवन स्तरमा सुधार ल्याउन सहयोग गरेको र परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूलाई परियोजनाले प्राथमिकतामा राखी काम गरेको जानकारी दिए ।
कार्यक्रममा कानुनतः व्यवस्था भएको अपागंता व्यक्तिहरुको लागि यातायात छुटको व्यवस्थाको कार्यान्वयनको अवस्था बारे पनि व्यापक छलफल भएको छ । कार्यशाला गोष्ठी कार्यक्रममा जिल्लाका सबै स्थानीय तह तथा प्रहरी कार्यालय चेक पोष्टमा यातायात छुट सम्बन्धमा जानकारी गराउने, कानुनमा व्यवस्था भएबमोजिम अपागंता भएका व्यक्तिहरूलाई यातायात छुट लगायत हक, अधिकार र व्यवस्थाबारे समुदाय स्तरमा व्यापक जानकारी गराउने,विभिन्न टिकट काउन्टरहरूमा अपागंता भएका व्यक्तिहरूलाई यातायात सम्बन्धी व्यवस्था गरिएको जानकारी सहित गुनासो गर्ने संयन्त्रबारे फ्ल्याक्स, स्टिकर व्यवस्था गर्ने, यातायात छुटको प्रभावकारी कार्यान्वयनको नियमित अनुगमन तथा सम्बन्धित निकायमा जानकारी गर्ने,यातायातका साधनहरूमा यात्रु सिटमा आरक्षण (महिला, अपागंता भएका व्यक्ति, ज्येष्ठ नागरिक) को सुनिश्चितता गर्ने लगायतका कार्य योजना तयार पारेको छ ।
यिनी कार्य योजनामा गैर सरकारी संस्थाहरू ( एभरेष्ट क्लब, सोसेक नेपाल, पञ्चकोशी अपागंता मञ्च, सम्बन्ध नेपाल दैलेख), नेपाल प्रहरी, स्थानीय तह लगायत स्थानीय मिडियाबाट प्रचार–प्रसार गरी समन्वय गर्ने निर्णय भएको छ ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि,गैर सरकारी संस्थाहरूका प्रतिनिधि,कार्यालयका प्राविधिक, पत्रकार, सुरक्षा निकाय लगायतले अपाङ्गता भएका व्यक्ति,ज्येष्ठ नागरीकले यातायातको भाडादरमा ५० प्रतिशत छुट पाउने सूचना प्रवाह गर्नुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया