नीति र नाटकबीच हराउँदै राउटेहरू
कन्टेन्टको दुनियामा हराउँदै मौलिक राउटे जीवन
राउटे समुदाय नेपालको एक अद्वितीय, मौलिक र घुमन्ते जीवनशैली भएको जनजाति हो। तर विडम्बना, आज उनीहरूको अस्तित्व नै जोखिममा परेको छ। नीतिगत संरक्षणको अभाव, सरकारी निष्क्रियता, र हाम्रो असंवेदनशील व्यवहारका कारण यो समुदाय दिनानुदिन संकटमा फस्दै गएको छ।
हाल सुर्खेत जिल्लामा बसोबास गर्दै आएका राउटे समुदायका सदस्यहरू बाह्य प्रभाव र सामाजिक हस्तक्षेपका कारण आफ्नो मौलिक जीवनशैलीबाट क्रमशः टाढिँदै गइरहेका छन्। अहिलेको अवस्थाको चित्र यस्तो छ—दिनमा सयौँ, कहिलेकाहीँ हजारौँ मानिस राउटे बस्ती पुग्छन्, भिडियो खिच्छन्, पैसा बाँड्छन्, खाना वितरण गर्छन्, अनि सामाजिक सञ्जालका लागि सामग्री ९कन्टेन्ट० बनाउँछन्। यस्ता क्रियाकलापहरूले उनीहरूलाई संरक्षण होइन, बरु बिग्रिने दिशातर्फ धकेलिरहेका छन्।
पहिले उनीहरू जंगलमै श्रम गरेर बाँच्ने गर्थे, आफ्नै हातले बनाएको र उत्पादन गरेकोमा निर्भर हुन्थे। तर अहिले बाहिरबाट आइरहेको खाद्य सामग्री र सजिलो पैसाको पहुँचले उनीहरूको खानपान, बानी, र स्वास्थ्यमा नकारात्मक असर पार्न थालेको छ। बजारमा पाइने चाउचाउ, प्याकेज गरिएको तरकारी, र कृत्रिम खाद्य पदार्थहरूले उनीहरूको शरीरमा दीर्घकालीन क्षति गरिरहेका छन्। केही सदस्यमा त अचानक हृदयघातजस्ता समस्या समेत देखिन थालेका छन्।
यदि सरकारले समयमै कडा नीति बनाई राउटे समुदायलाई अनावश्यक भिडभाडबाट जोगाउने, सुरक्षा प्रदान गर्ने र निश्चित नियम लागू गर्ने कदम चालेको भए, आज यो समुदायको संरक्षण प्रभावकारी ढंगले हुन सक्थ्यो। तर दुर्भाग्यवश, न नीति बनेको छ, न कार्यान्वयन भएको छ।
पहिले राउटेहरूले पैसालाई छुन पनि पाप लाग्छ भन्ने मान्यता राख्थे। तर अहिले त्यही समुदाय पनि मासिक भत्ताबाट आउने पैसाको प्रयोग रक्सी खरिदमा गर्न थालेका छन्। यसले उनीहरूको स्वास्थ्य, आपसी सम्बन्ध र संस्कृतिमा गम्भीर असर पारेको छ। अहिले उनीहरू हाम्रै जस्ता बन्दै गएका छन्—तर फरक यत्ति मात्र हो कि उनीहरूको स्थायी बसोबास छैन, उनीहरू अझै जंगलमै रमाउँछन्।
तर विडम्बना यति नै होइन। ूलोपोन्मुख जातिू भन्दै संरक्षणको नाममा अनेक व्यक्ति र समूहले उनीहरूलाई भिडमा ल्याएर, भिडियो बनाएर र सामग्री बिक्री गरेर आर्थिक लाभ लिइरहेका छन्। राउटे समुदाय अहिले “कन्टेन्ट” र “दया देखाउने माध्यम” बनेका छन्। कसैले बजाएर हेर्छ, कसैले फोटो खिच्छ, कसैले भिडिओ पोस्ट गर्छ—तर यसले उनीहरूलाई अझ असुरक्षित बनाइरहेको छ।
परिवर्तन हुनु राम्रो कुरा हो, तर यो परिवर्तन उनीहरूको अस्तित्व मेट्ने दिशातर्फ गएको छ। पहिले मेहनत गरेर खाने समुदाय अहिले मागेर खान अभ्यस्त हुँदै गएको छ। दैनिक सयौँ मानिस उनीहरूको बस्ती पुग्छन्, खाना वा पैसा दिन्छन्, अनि सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्छन्। यसले उनीहरूमा ‘कोही न कोही केही दिन्छ’ भन्ने अपेक्षा र निर्भरता बढाएको छ, जुन उनीहरूको आत्मनिर्भर जीवनशैलीका लागि गम्भीर चुनौती हो।
तर यहाँ केही मूलभूत प्रश्नहरू उठ्छन्—के कुनै व्यक्तिले राउटे बस्तीको फोटो वा भिडियो लिनु अघि स्थानीय निकाय वा सम्बन्धित सरकारी कार्यालयबाट अनुमति लिएको छरु के राज्यसँग त्यसको कुनै अभिलेख छरु के राउटे समुदायका सदस्यहरूको सहमति लिइएको छरु यी सबै प्रश्नहरूको जवाफ आजसम्म अस्पष्ट छ।
यस्तो असंवेदनशील व्यवहारले राउटे समुदाय मात्र होइन, राज्यको जिम्मेवारी पनि कमजोर बनाइरहेको छ। हाम्रो एक गलत कदमले उनीहरूको सामाजिक, सांस्कृतिक र मानसिक जीवनमा गहिरो असर पारिरहेको छ। हामी उनीहरूलाई हेर्न जान्छौं, भिडियो खिच्छौं, र प्रचार गर्छौं, तर सोच्दैनौं—त्यो भिडभाडले उनीहरूमा कस्तो दबाब र क्षति पुर्याइरहेको छरु
अब राज्यले राउटे समुदायको संरक्षणका लागि स्पष्ट, व्यवहारिक र कडाइका साथ नीति ल्याउन जरुरी छ। राउटे बस्तीमा जो–कोही प्रवेश गर्न पाउने होइनस अनुमति, निगरानी र दर्ता प्रणाली अनिवार्य हुनुपर्छ। स्थानीय सरकार, प्रदेश र संघीय निकायबीच सहकार्य गर्दै एउटा साझा कार्यविधि तयार गर्नुपर्छ, जसले उनीहरूको गोपनीयता, संस्कृतिको सम्मान र जीवनशैलीको रक्षा गर्न सकोस्।

आज विभिन्न युट्युबर, सामाजिक सञ्जालका व्यक्ति र विदेशी आगन्तुकहरू अनुसन्धान वा रिपोर्टिङका नाममा राउटे बस्ती पुग्छन्। अन्तर्वार्ता लिन्छन्, भिडिओ बनाउँछन्, र आफ्नै फाइदाका लागि प्रयोग गर्छन्। तर यसले उनीहरूको दैनिकीमा कस्तो असर पारिरहेको छ—त्यो सोच्ने कोही छैन। जब कुनै दुर्घटना वा विवाद हुन्छ, तब मात्रै दोषारोपण सुरु हुन्छ। राज्यलाई गाली गर्ने, सरोकारवालालाई दोष दिने, तर समाधानका लागि दीर्घकालीन सोच नदेखाउने परम्परा अझै जारी छ।
हामी सबैले आत्मनिरीक्षण गर्नुपर्ने समय यही हो। हामीले नै उनीहरूलाई लोभ देखाएर, दया देखाएर, र असुरक्षा बढाएर यो अवस्थासम्म ल्याएका हौं। हामी अनुशासित छैनौं, जिम्मेवार छैनौं, र हाम्रो व्यवहारले उनीहरूको मौलिकता क्रमशः हराउँदै गएको छ।
अब ढिलो नगरी राज्यले नीतिगत कदम चाल्नुपर्छ। राउटे समुदायका लागि पृथक संरक्षण नीति, सांस्कृतिक पुनर्स्थापना कार्यक्रम, र आत्मनिर्भर बनाउने योजना आवश्यक छ। उनीहरूको परम्परागत सीप र जीवनशैलीलाई ध्यानमा राखेर सीप विकास तालिम, बजार सञ्जाल र रोजगारीका अवसर प्रदान गर्नुपर्छ। यसरी मात्र उनीहरूलाई बाह्य सहायता र पैसामा निर्भर नभई आत्मनिर्भर जीवनतर्फ लैजान सकिन्छ।
राउटे समुदायलाई उनीहरूको वातावरणमै रमाउन दिनुपर्छ। उनीहरूको संस्कृति, परम्परा र सीप जोगाएर राख्न सक्ने नीति र कार्यविधि बनाइनुपर्छ। पर्यटनका नाममा उनीहरूको गोपनीयता भंग गर्नु, भिडभाड बढाउनु र तिनीहरूलाई “दर्शनीय वस्तु” बनाउनु अमानवीय व्यवहार हो।
यदि अहिले पनि सरकारले र हामी सबैले सचेत कदम नचाले, केही वर्षपछि “नेपालमा राउटे नामको समुदाय थियो” भन्ने कथा मात्र बाँकी रहनेछ। त्यसैले अब समय छ—राउटे समुदायको सम्मान, संरक्षण र अस्तित्वको लागि हामी सबै एकजुट भएर जिम्मेवार कदम चाल्ने।
प्रतिक्रिया