दैलेखमा प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न

दैलेखमा प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न फाइल तस्बिर

दैलेख -  जिल्ला प्रहरी कार्यालय दैलेखले ७९औँ प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। प्रहरी दिवसको अवसर पारेर शुक्रबार सदरमुकाम दैलेखको अदालत पछाडिको बसपार्क क्षेत्र सफा गरिएको हो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालको नेतृत्वमा प्रहरी टोलीले प्लास्टिक, कागज, मिनरल पानीका बोतल, गुट्खा, सुपरपावरलगायतका सुर्तीजन्य पदार्थका पोकाहरू संकलन गरी फोहोर व्यवस्थापन गरेको थियो।

डीएसपी बरालका अनुसार बसपार्क क्षेत्रमा अनियन्त्रित रूपमा फोहोर फालिँदै आएकाले बजार दुर्गन्धित बन्दै गएकाले प्रहरी दिवसको अवसरमा सरसफाईसँगै स्थानीय व्यापारी र घरधनीहरूलाई सरसफाईको महत्वबारे सचेत गराइएको हो। उनले सरसफाईले वातावरणीय सन्तुलन कायम राख्ने र नागरिकमा जिम्मेवारी र अनुशासनको भावना अभिवृद्धि गर्ने बताए ।

नेपाल प्रहरीको स्थापना सन् १९५६ (वि.सं. २०१२ साल असोज ३१ गते० मा नेपाल प्रहरी ऐन जारीसँगै औपचारिक रूपमा भएको हो । सोही ऐतिहासिक दिनलाई स्मरण गर्दै हरेक वर्ष असोज महिनाको अन्तिममा देशभर प्रहरी दिवस विविध कार्यक्रमसहित मनाइँदै आएको छ।

प्रतिक्रिया