दैलेखमा प्रहरी दिवसमा नागरिक–प्रहरी सहकार्यको आह्वान
दैलेख - नेपाल प्रहरीको ७०औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखले विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कार्यालयका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेशबहादुर बरालले शान्ति–सुरक्षा र नागरिकको जिउधन सुरक्षामा नेपाल प्रहरी सधैं प्रतिबद्ध रहेको बताउँदै नागरिकबाट रचनात्मक सुझाव र सहयोगको आग्रह गरे ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले समुदाय पनि शान्ति–सुरक्षाका सह–साझेदार भएको उल्लेख गर्दै प्रहरीको राम्रो कामको प्रशंसा र कमजोरीमा सुझाव दिन आग्रह गरेका थिए । पूर्व प्रहरी संघका अध्यक्ष लालबहादुर गुरुङले प्रहरी–नागरिक सहकार्यले समाजमा अमनचैन कायम हुने बताए ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरीहरूलाई सम्मान गरिएको थियो । इन्स्पेक्टर लालबहादुर सुनार, सत्यनारायण चौधरी, वरिष्ठ सई श्याम अर्याल लगायतलाई कदरपत्र प्रदान गरिएको थियो । अन्य उत्कृष्ट प्रहरी कर्मचारी र अमर प्रहरीका परिवारलाई समेत सम्मान गरिएको थियो ।
यस वर्षको प्रहरी दिवसको नारा ‘नागरिक–प्रहरी सहकार्य, सुरक्षाको लागि अपरिहार्य’ रहेको थियो ।
प्रतिक्रिया