तिहार प्रकृतिपरक किसानको महान् पर्व
दैलेख –नेपाल विविध संस्कृतिहरूको धनी राष्ट्र हो । यहाँका प्रत्येक पर्व र चाडहरूले हाम्रो समाज, संस्कार र जीवनशैलीसँग गहिरो सम्बन्ध राख्दछन् । तीमध्ये तिहार पर्व नेपालीहरूको अत्यन्त प्रिय, रमाइलो र अर्थपूर्ण पर्वका रूपमा मनाइन्छ । यस पर्वले केवल धार्मिक आस्था मात्र होइन, प्रकृति र कृषिप्रधान जीवनशैलीप्रति पनि कृतज्ञता प्रकट गर्दछ ।
तिहारको समय बाली थन्क्याउने र नयाँ खेतीको तयारी बीचको विश्राम अवधि हो । यही कारणले यसलाई किसानको पर्व पनि भनिन्छ । खेतका सुनौला धानका बाला झुलेका, बगैंचाका सयपत्री, मखमली, गोदावरी, पारिजात, सुपारी, लालुपातेजस्ता रङ्गीचङ्गी फुलहरूले घर आँगन सजिएको दृश्यले तिहारको सौन्दर्य झल्काउँछ । यस समयमा न त जाडो हुन्छ न त गर्मी — चारैतिर उत्साह, उमङ्ग र सौहार्दताको वातावरण हुन्छ ।
तिहारमा गरिने पूजापाठहरू मानव र प्रकृतिबीचको सम्बन्धको प्रतिक हुन् । काग तिहार, कुकुर तिहार, गाई तिहार, गोवद्र्धन पूजा र भाइटीका — यी सबैले हाम्रो दैनिक जीवनमा सहयोग पुर्याउने प्राणी र सम्बन्धप्रति कृतज्ञता प्रकट गर्छन् । काग सूचना दिने प्राणी हो, कुकुर निष्ठा र सुरक्षाको प्रतीक हो, गाई माताको रूपमा पूजा गरिन्छ, गोरु कृषकको सच्चा सहायक हो, र अन्तिम दिन दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्धलाई सम्मान गर्दै भाइटीका मनाइन्छ । यसरी तिहारले प्रेम, कृतज्ञता, सौहार्द र पारिवारिक एकताको सन्देश दिन्छ ।
साँझमा घरघरमा उज्यालो बत्ती र दियो बालिन्छ, जसले अन्धकारमाथि प्रकाशको विजय र दुःखमाथि आशाको प्रतीक जनाउँछ । देउसी–भैलो खेल्दै गाउँबस्तीमा रमाइलो गर्ने, नाचगान गर्ने र परस्पर शुभकामना आदान–प्रदान गर्ने परम्पराले नेपाली समाजको सामूहिक एकता झल्काउँछ ।
आजको परिवेशमा तिहारले हामीलाई एउटा सन्देश दिन्छ — प्रकृतिप्रति सम्मान गरौं, श्रमलाई सम्मान गरौं र आपसी माया–ममतालाई अझ प्रगाढ बनाऔं । हाम्रो संस्कृति र परम्पराले दिएको यो अमूल्य सन्देशलाई नयाँ पुस्ताले पनि आत्मसात् गर्दै लैजानुपर्छ ।
शुभकामना सन्देश
यस प्रकाश पर्व, तिहारको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना
तिहारले सबैमा प्रेम, सौहार्द, शान्ति र समृद्धि ल्याओस् ।
प्रकृति, प्राणी र परिवारप्रतिको कृतज्ञता सधैं जीवित रहोस् — यही शुभेच्छा सहित तिहारको मंगलमय शुभकामना
प्रतिक्रिया