आज भारी हिमपात र वर्षाको सम्भावना

आज भारी हिमपात र वर्षाको सम्भावना

काठमाडौं : हाल देशको मौसमी प्रणालीमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने भन्छन्, ‘देशमा पश्चिमी वायु तथा अरब सागरमा बनेको न्यून चापीय प्रणालीको कारणले सोमबार रातिदेखि बुधबार बिहानसम्म हिमपात र वर्षाको सम्भावना बढाएको छ ।’ गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ र बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा हिउँपात र वर्षाको सम्भावना रहेको जनाइएको छ ।

गण्डकी प्रदेशको गोरखा, म्याग्दी, मनाङ, मुस्ताङलगायत आसपासका ठाउँमा भारी हिउँ पर्ने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका सहप्राध्यापक पोखरेलले नेपालभरि अरब सागर र बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका असरकै कारण बादल फैलिएको बताएका छन् । पश्चिमी वायुको प्रभाव भने थोरै मात्रामा भएको उल्लेख गरेका छन् । 

मंगलबारदेखि पश्चिम नेपालमा भारी वर्षा हुने र पूर्वका आधाजसो भूभागमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । मुलुकको आधा भागमा बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना रहेको पोखरेलले जनाए । अक्टोबर, नोभेम्बरमा साइक्लोनहरू विकसित हुने समय भएकाले त्यसको प्रभावले पानी पार्ने सम्भावना रहने मौसमविद्हरू बताउँछन् । 

सोमबारदेखि काठमाडौंको मौसम पनि धुम्मिएको छ । सोमबारको तापक्रम २३ देखि २५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पानी नपरे पनि चिसो अनुभव गरिएको छ । 

प्रतिक्रिया