मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि वर्षा र हिमपात, पदयात्रा नगर्न अनुरोध

मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि वर्षा र हिमपात, पदयात्रा नगर्न अनुरोध

मुस्ताङ: मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि वर्षा र हिमपात भएको छ । हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे देखिएका छन्। हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरू प्रभावित भएका छन्।
यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपात भइरहेकाले पर्यटकहरूलाई सुरक्षित बस्न अनुरोध गरेको छ। यसअघि पनि मुस्ताङ प्रशासनले बारम्बार पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ। एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो।
मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, छ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रहरुमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण छ। त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्नुरनगराउन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए ।  

प्रतिक्रिया