बालुवाटार बैठकमा जेनजीहरूले भने– चुनाव भनेर मात्र हुँदैन, भ्रष्टहरूलाई कारबाही गर्नुपर्‍यो

बालुवाटार बैठकमा जेनजीहरूले भने– चुनाव भनेर मात्र हुँदैन, भ्रष्टहरूलाई कारबाही गर्नुपर्‍यो फोटो-अनलाइन

काठमाडौँ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजनीतिक दलसहितको बैठकमा जेनजीहरुले आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन् । त्रिपक्षीय वार्तामा जेनजीहरुले सुशासन, भ्रष्टचारीहरुलाई कारबाही लगायतका मागहरू सरकारले सम्बोधन गर्नुपर्न बताए । सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच बुधबार (कात्तिक १२) बालुवाटारमा त्रिपक्षीय छलफल भयो । छलफलका क्रममा राजनीतिक दल र जेनजीले आ–आफ्नो धारणा राखेका थिए । 

जेनजीहरुले आफूहरूलाई चुनाव चाहिएको भए पनि चुनाव मात्रै भएर नहुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ’चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ’जेनजीहरुले बैठकमा धारणा राखेका थिए ।

जेनजीका अर्का प्रतिनिधि सागर ढकालले चुनावको विकल्प नभएको र कसरी गर्ने भन्नेबारे सबैले आ आफ्नो धारणा राखेको बताए । जेनजीले लिएको प्रविधिलाई राजनीतिक दलले अबलम्बन गर्नुपर्छ भन्ने कुरा पनि राखेको उनले बताए ।

प्रतिक्रिया