दुल्लुमा अनलाइन नागरिकता सिफारिस प्रणाली सम्बन्धी तालिम सम्पन्न
दैलेख - जिल्लाको दुल्लु नगरपालिकाले अनलाइन नागरिकता सिफारिस प्रणाली कार्यान्वयनका लागि वडा सचिव र कर्मचारीहरूलाई अभिमुखीकरण तालिम सम्पन्न गरेको छ।
नगरपालिका र सेवक नेपाल दैलेखको सहकार्य तथा सहजीकरणमा आयोजित उक्त एकदिने तालिममा एक्टनल मोड्युल अन्तर्गत अनलाइन नागरिकता सिफारिस प्रणाली र सामाजिक आर्थिक संकटासन्नता सूचना व्यवस्थापन प्रणालीबारे व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको हो।
कार्यक्रमको उद्घाटन नगर प्रमुख भरत प्रसाद रिजालले गर्दै अनलाइन प्रणाली लागू भएपछि नागरिक सेवा प्रवाह थप छरितो र पारदर्शी हुने विश्वास व्यक्त गरे । उनले विगतमा हस्तलिखित अनुसूचीमा त्रुटी देखिएपछि पुनः वडामा फर्काएर सच्याउनु पर्ने बाध्यताका कारण नागरिकले भोग्नुपरेको समस्या अब अन्त्य हुने बताए । “अब वडाबाटै अनलाइन सिफारिस गर्दा त्रुटी भए तत्कालै सच्याउन सकिनेछ, जसले सेवाग्राहीलाई राहत मिल्नेछ,” उनले भने।
रिजालले एसइभिआइएमएस प्रणालीमार्फत तथ्याङ्क अद्यावधिक वडास्तरमै हुने र घर-घरमा क्युआर सहितको घर नम्बर टाँस गर्न सेवा प्रदायक संस्था सेवक नेपाललाई निर्देशन समेत दिए । उनका अनुसार यस प्रणालीले वास्तविक लाभग्राही पहिचानमा सहजता ल्याउने र दुल्लु नगरपालिकाको सेवा प्रवाहलाई पूर्ण डिजिटलिकरणतर्फ लैजानेछ।
कार्यक्रममा सूचना प्रविधि अधिकृत प्रकाश रेग्मीले अनलाइन नागरिकता सिफारिस प्रणालीले शिफारिस सम्बन्धित निकायमा तत्कालै पठाउने, त्रुटी भए तत्कालै सच्याउने सुविधा उपलब्ध गराउने बताए ।
तालिममा नगरपालिकाबाट सूचना प्रविधि अधिकृत प्रकाश रेग्मी र सेवक नेपाल दैलेखका कार्यकारी निर्देशक महारुप खत्री तथा वखत बहादुर थापाले सहजीकरण गरेका थिए । उनीहरूले सहभागीहरूलाई प्रणालीको प्रयोगात्मक अभ्यास र सञ्चालनका विधि सिकाएका थिए ।
सेवक नेपालका कार्यकारी निर्देशक खत्रीका अनुसार उक्त तालिम एसइभिआइएमएस सम्बोधन परियोजनाको भागस्वरूप यएसएआइडि नेपाको सहयोगमा सञ्चालन गरिएको हो।
प्रतिक्रिया