जुम्लामा बालअधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिका–९ मा बालअधिकार समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी चन्दननाथ नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजनाको सहजीकरणमा सम्पन्न भएको हो ।
कात्तिक १५ गते सम्पन्न उक्त कार्यक्रममा बालअधिकार समितिले वडाभित्रका बालबालिकासम्बन्धी अधिकार संरक्षण, समस्या र सुधारका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी अन्तर्गत ५२ वटा सूचकमध्ये कुन–कुन सूचक पूरा भएका छन् र कुन–कुन सूचकमा अझ सुधार आवश्यक छ भन्ने विषयमा सदस्यहरूबीच गहन समीक्षा गरिएको बताइएको छ ।
वडा सदस्य तथा बालअधिकार समिति अध्यक्षले वडाभित्र पछिल्ला वर्षहरूमा छाउपडी न्यूनीकरण र महिलाहरू सुरक्षित स्थानमा बसोबास गर्न थालेको, साथै हिंसामा परेका बालबालिकालाई सुरक्षित स्थानमा पुर्याउने वातावरण तयार भएको जानकारी दिए । उनका अनुसार लागू औषधको दुरुपयोग पनि अघिल्ला वर्षको तुलनामा घट्दै गएको छ।
तर, वडामा अझै पनि बालविवाह अत्याधिक मात्रामा कायम रहेको बताइएको छ। यस समस्यालाई अन्त्य गर्नका लागि बालविवाह विरुद्धको र्याली कार्यक्रम तयारी भइरहेको समितिले जनाएको छ।
कार्यक्रमको अन्त्यमा बालअधिकार समितिका सदस्य तथा तमुनाथ ज्ञानकुञ्ज विद्यालयका प्रधानाध्यापक छायाबहादुर खत्रीले जोखिममा रहेका, विद्यालय छोडेका र न्यून आय भएका बालबालिकाको सही तथ्याङ्क संकलन गरी उनीहरूको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय गरिएको जानकारी दिए ।
खत्रीका अनुसार, चन्दननाथ–९ का विद्यालयहरू मध्ये श्री शम्भुनाथ ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा सबैभन्दा धेरै दलित तथा गरिब समुदायका बालबालिका अध्ययनरत रहेका छन् । त्यसैले विद्यालय र समिति मिलेर उनीहरूको शैक्षिक पहुँच र संरक्षणका कार्यक्रम अघि बढाइने योजना रहेको छ।

त्यस्तै चन्दननाथ नगरपालिका–८ मा बालअधिकार समितिको बैठक बसेर वडाभित्रका बालबालिकासम्बन्धी समस्या र समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको छ ।
बैठकमा वडा सदस्यहरूले पछिल्ला वर्षहरूमा छाउपडी न्यूनीकरणमा प्रगति भएको र महिलाहरू सुरक्षित स्थानमा बसोबास गर्न थालेको जानकारी दिएका छन् । तर, वडामा अझै पनि लागू पदार्थको दुर्व्यसन, बालविवाहको वृद्धि, र मनोसामाजिक समस्या भएका अभिभावक र बालबालिकाको संख्या बढ्दो अवस्थामा रहेको बताइएको छ।
यी समस्याहरू न्यूनीकरणका लागि बैठकले केही ठोस निर्णयहरू पनि गरेको छ। निर्णयअनुसार, वडाभित्रका बालक्लबका सदस्यहरूले लागू औषधको दुष्प्रभाव र सामाजिक असरबारे जनचेतनामूलक नाटक प्रदर्शन गर्ने छन्।
त्यस्तै, धुपीढुष्का विद्यालयका शिक्षक र बालअधिकार समितिका सदस्यले लागू औषध सेवनका बेफाइदा तथा कानुनी सजायबारे विद्यालय र समुदायमा अभिभावक लक्षित अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
प्रतिक्रिया