‘अर्काको देशको गालीभन्दा आफ्नै माटोको सुगन्ध मिठो’
दैलेख (ठाटीकाँध)- दैलेखको ठाटीकाँध गाउँपालिका –६ पाँचलाका हरि बहादुर रोकाया गाउँकै अगुवा कृषकका रुपमा परिचित छन् । पाँच रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका ४० वर्षीय रोकायाले आफ्नै बारीमा लटरम्म तरकारी फलाएका छन् । रोकाया भन्छन्, ‘अर्काको देशमा भारी बोक्नु भन्दा आफ्नै माटोमा पसिना बगाउनु धेरै ठूलो कुरा हो ।’
पहिले हरि बहादुरका दाइ लोकेन्द्र रोकायाले तरकारी लगाउन सुरुवात गरेका थिए । दाइ भारत गएपछि उनी आफै जुट्दै आफ्नो नेतृत्वमा २०६०÷०६१ सालतिर तोलीजैसी गाविसकै अगुुवा कृषकको अध्यक्ष बने । अगुवा कृषकको नेतृत्व लिएपछि तोलीजैसी गाविसका अगुवा कृषकका रूपमा उनी चिनिन थाले । गाउँका किसानलाई एकजुट बनाएर समूहमा खेती गर्ने अभ्यास सुरु गरे । पहिले रोकायाका दाइ लोकेन्द्र रोकायाले तरकारी खेती सुरु गरे पनि व्यावसायिक रूपमा थिएन । हरि भने गाउँमै बाख्रापालन, तरकारी खेती र कृषक परिचालन सबैमा अगुवाइ गर्न थाले ।

रोकायाको कृषि यात्रा सजिलो थिएन । २०५८ सालमा एसएलसीमा असफल भएपछि उनी भारतको उत्तराखण्डस्थित गौचर पुगे । तीन महिना अर्काको देशमा मजदुरी गर्दै उनले बुझ्न थाले । अर्काको देशको गाली, पसिना बगाएको देख्दा उनलाई लाग्यो अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउछु । त्यसपछि उनले गाउँ फर्कने निर्णय गरे ।
गाउँ फर्किएपछि उनले एसएलसी पुनः दिए र २०६३ मा पास गरे । त्यसपछि तीन वर्ष सुर्खेतमा इलेक्टोनिक्स कोर्स सिके ।
अनि गाउँ फर्किएर एउटा सानो इलेक्टोनिक्स पसल सञ्चालन गरे । तर मन भने माटोसँगै थियो । गाउँमा बाख्रा पालन र तरकारी खेतीमा रमाउन थालेका रोकायाले पछि फर्म दर्ता गरेर ‘आयुश कृषि तथा पशुपंक्षी फर्म’ स्थापना गरे ।
फर्म दर्ता भएको अहिले तीन वर्ष भएको छ । रोकायाका अनुसार पहिले अरू कसैको आशा थिएन, पछि संघ–संस्थाले सहयोग गर्न थालेपछि व्यावसायिक रूपमा काम गर्न सजिलो भयो ।
रोग र प्रतिस्पर्धाको चुनौती
पहिले कच्ची टनेलमा राम्रै उत्पादन हुन्थ्यो । अहिले पक्की टनेल बनाएर खेती गर्दा रोग र किराको प्रकोपले चुनौती थपिएको छ । रोकाया भन्छन्, ‘यो वर्ष गवारो, डडुवा, पात सुक्ने र फल कुहिने समस्या भयो । उत्पादन भयो तर बजारमा माग घटेको छ ।’
पहिले बजारमा प्रतिस्पर्धा कम थियो, अहिले सबैले तरकारी फलाउने भएकाले मूल्य घटेको छ । ‘पहिले माग धेरै थियो, अहिले उत्पादन बढी भएर बिक्री घटेको छ,’ उनी बताउँछन् ।
रोकायाको व्यवसायिक तरकारी खेतीमा बन्दा, काउली, प्याज, टमाटर, केराउ, सिमी, अदुवा लगायत सिजन अनुसारका तरकारी हुन्छन् । खेतीमा श्रीमती बबिता रोकाया पनि साथ दिन्छिन् । रोकायालाई भनाइमा, ‘ठूलो काम म गर्छु, सानो काम र गोडमेलमा श्रीमती पनि हातेमालो गर्छिन् ।’

तरकारी र बाख्रापालन दुवैबाट उनले वार्षिक डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्छन् । ‘अर्काको देशको हजारभन्दा आफ्नै गाउँको पाँच सय नै ठूलो लाग्छ,’ उनले भने ।
तर रोकाया स्थानीय तहप्रति भने सन्तुष्ट छैनन् । “पालिका घरआँगनमै छ, तर कृषि प्राविधिक बोलाउँदा घरमा आइदिँदैनन्,’ उनी गुनासो गर्छन् । केही समयअघि बाख्रा बिरामी हुँदा उनले प्राविधिकलाई बोलाए, तर ‘बाख्रा बोकेर पालिका ल्याउन’ भनेको उनले सम्झन्छन् । ‘त्यो अवस्था थिएन, अन्ततः बाख्रा मरे ।’
दुईपटक भारत पुगेर मजदुरी गरेका रोकायाले विदेशी भोगाइको अनुभव जीवनभरको पाठ बनेको बताउँछन् । ‘अर्काको देशमा दुःख गरेर एकहजार कमाएको भन्दा आफ्नै माटोमा पसिना बगाएर कमाएको पाँच सय धेरै सन्तोष दिन्छ,’ उनी भन्छन् ।
हरि बहादुर रोकाया अहिले गाउँकै प्रेरणादायी कृषक बनेका छन् । माटोमा लगानी गर्ने, गाउँमा रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बन्ने उनको सोचले गाउँका युवाहरूमा पनि आशा जगाएको छ ।
विभिन्न गैर सरकारी संघ संस्थाको साथ पाएपछि व्यवसायिक तरकारी खेती गर्न निकै सहज भएको उनले बताए । विभिन्न संघ संस्थाले सहयोग गरेपछि अहिले राम्रै भएको छ,’उनले भने, ‘अहिले विभिन्न संघ सस्था जस्तै सोसेक नेपाल लगायतले समयमै बिउविजन सिँचाईँ, कृषि प्राबिधिम उपलब्ध गराइदिदा पहिले भन्दा धेरै सहज भएको छ ।’
पहिले कृषि प्राबिधिक नहुँदा निकै अन्यौल हुने गथ्यो उनी भन्छन्, ‘अहिले प्राबिधिक साथमै हुँदा सहज भएको छ । बाहिरको रासायनिक मलको प्रायोग घरेका छैनौँ ।’
घरेलु विषादी बनाएर प्रत्यक्ष रुपमा सिकेर गरेका छौँ । सोसेक नेपालले अझ बारीमै प्राबिधिक पठाएपछि निकै सहज भएको उनको भनाई छ ।
हरि बहादुर रोकाया एक प्रतिनिधि पात्र मात्र हुन् एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्धारा ठाटीकाँधमा सञ्चालित सहकार्य परियोजनाको सहयोगमा पालिकाका ६ वटै वडाहरुमा व्यवसायिक कृषि खेति गर्नेको आकर्षण बढेको कृषि प्राबिधिक भुपेन्द्र सिजापति बताउँछन् । पहिले प्राबिधिकको समस्या थियो अहिले प्राबिधिकका रुपमा कृषिकका समस्या सुन्न र प्रत्यक्ष देख्न म बारीमै पुग्ने गर्छु जस्ले गर्दा कृर्षकलाई तरकारी उत्पादनमा सहज भएको छ ।
प्रतिक्रिया