चामुण्डामा अपाङ्गता पहिचान घुम्ती स्वास्थ्य शिविर सम्पन्न
दैलेख - दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ स्थित बिन्द्रासैनी स्वास्थ्य चौकीमा अपाङ्गता पहिचान तथा पुनःस्थापना घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ। सोसेक नेपाल, सेभ द चिल्ड्रेन र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको साझेदारीमा तथा विकलाङ्ग मित्र समूह र अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, वनेपाको प्राविधिक सहयोगमा आयोजित गरिएको हो ।
शिविरको उद्घाटन नगरप्रमुख गणेशबहादुर शाहीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर शाहीले गरेका थिए ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख शाहीले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, उपचार परामर्श र रिफरल सेवामार्फत उपचारमा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट समुदायका धेरै नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले यस कार्यक्रमलाई सफल बनाउन सहकार्य गर्ने सोसेक नेपाल, सहयात्रा परियोजना, विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र वनेपा र जिविस सुर्खेतलाई धन्यवाद दिए ।
त्यस्तै वडा अध्यक्ष शाहीले शिविर मुख्यतया १८ वर्ष मुनिका बालबालिकाको अपाङ्गता पहिचान, उपचार, परामर्श र रिफरलमा केन्द्रित रहेको बताए । उनले अन्य उमेर समूहका व्यक्तिहरू पनि आएमा सकेसम्म उपचार सेवा उपलब्ध गराउने जानकारी दिए ।
शाहीले स्थानीय बासिन्दालाई पालो अनुसार धैर्यपूर्वक सेवाको लाभ लिन आग्रह गरे ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख टुकनाथ पौडेलले शिविरमा प्राविधिक सहयोग, समन्वय र व्यवस्थापनका लागि योगदान दिने सबै संस्थालाई धन्यवाद ज्ञापन गरे ।
शिविरमा आगोले पोलेर अङ्ग टाँसिने, खुट्टा वा हात लुलो हुने, हड्डी भाँचिएर वाङ्गो हुने, ढाड वाङ्गो वा कुप्रो पर्ने, ओठ–तालु फाट्ने, हड्डीको टिबी, जोर्नी दुख्ने वा सुन्निने लगायतका शारीरिक समस्याको उपचार, परामर्श र परीक्षण गरिएको थियो ।
शिविरमा आर्थोपेडिक चिकित्सक डा. निरञ्जन थापा, पुनःस्थापन नर्स निर्मला भैनातो, र फिजियोथेरापिष्ट दुर्गा खनालसहितको टोली खटिएको थियो।
स्वास्थ्य टोलीले १०४ जना व्यक्तिको स्वास्थ्य परीक्षण गरी तीमध्ये १९ जनालाई ह्विलचेयर, वैसाकी, लौरो र कृत्रिम खुट्टालगायतका सहायक सामाग्री वितरण गरेको र १५ जनालाई थप उपचार तथा अपरेसनका लागि रिफरल गरिएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, जिविस सुर्खेतका प्रमुख होमराज केसीले जानकारी दिए ।
कार्यक्रमले समुदायमा लुकेर रहेका, आर्थिक अभावका कारण उपचार गर्न नसकेका अशक्त र विपन्न परिवारका सदस्यहरूको पहिचान र उपचारमा सहयोग पुर्याएको सहभागीहरूले बताएका छन् ।
यसैबीच, आज सोमवार नारायण नगरपालिकास्थित नारायण क्याम्पसमा र दैलेखको ठाटीकाँध गाउँपालिका ४ मा रहेको देउती माध्यामिक विद्यालय र भोली मंगलवार वडा नम्बर ३ विशालामा शिविर संचालन हुने सोसेक नेपालले जनाएको छ ।
प्रतिक्रिया