शिक्षकले गरे पालिकामा अनिश्चितकालीन तालाबन्दी

भोलीदेखि पालिकाभरका सबै सामुदायिक विद्यालय बन्द

शिक्षकले गरे पालिकामा अनिश्चितकालीन तालाबन्दी

दैलेख -  विगत ११ महिनादेखि तलब नपाएको भन्दै दैलेखको ठाटीकाँध गाउँपालिकाका शिक्षकहरूले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

मंगलबार शिक्षकहरूले गाउँपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरी आन्दोलन सुरु गरेका हुन् ।

गाउँपालिका अनुदान शिक्षक संघर्ष समितिका सदस्य तथा दशरथ माध्यमिक विद्यालय प्याडुल्लीका शिक्षक हिमबहादुर शाहीका अनुसार विगत एघार महिनादेखि तलब नपाउँदा शिक्षकहरू आर्थिक संकटमा परेको र तालाबन्दी गर्न बाध्य भएको बताए ।‘हामीले पटक–पटक ज्ञापनपत्र बुझायौँ, ध्यानाकर्षण गरायौँ, सहमति पनि भयो तर कार्यान्वयन भएन,’उनले भने, ‘अब तलब नपाएसम्म विद्यालय सञ्चालन हुँदैन ।’

संघर्ष समितिका सचिव रविलाल देवकोटाले आज शिक्षा शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा मात्रै तालाबन्दी गरिएको र भोली बुधवारदेखि गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने बताए । ‘जबसम्म आफुहरुले शिक्षकहरुको सबै तलब पाउँदैनौँ तबसम्म आफुहरुको आन्दोलन जारी रहन्छ,’उनले भने ।

विगत ११ महिना देखि हामीले तलब नपाएको र विभिन्न चरणमा आन्दोलन गर्दा पनि तलब पाउने सुनिश्चत नभएको हुँदा आज मंगलवार ठाटीकाँध गाउँपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकीयको कार्यकक्षमा ताला लगाउन बाध्य भएको देवकोटाले बताए । जबसम्म हाम्रो सबै तलब पाउँदैनौँ तबसम्म सबै सामुदायिक विद्यालय बन्द गछौँ,’उनले भने । 

उनका अनुसार गत वर्ष मंसिर ७ गते (२०८१÷८÷७) मा पालिका र शिक्षकबीच तीन बुँदे सहमति भए पनि कार्यान्वयन नभएकाले आन्दोलन पुनः सुरु गर्नुपरेको हो ।

यता, ठाटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले शिक्षकहरूले कार्यालयमा ध्यानाकर्षण नगराई एकाएक तालाबन्दी गरेको भन्दै असन्तुष्टि जनाए । ‘अघिल्लो वर्ष तलब दिने सहमति भएको थियो, तर बजेट अभावका कारण दिन नसकिएको हो,’ उनले भने, ‘पहिलेका वर्षमा वित्तीय समानीकरणबाट तलब दिइन्थ्यो, अहिले नसकिने अवस्था छ त्यो स्रोत अवरुद्ध भएको छ ।’

यो समस्या पुरानै सरकार देखिको समस्या हो,’प्रमुख उपाध्यायले भने, ‘भएको देखि हो बिचमा तलब दिन सकिन्छकि भनेर सहमती पनि गरियो २÷३ महिनाको तलब दिइयो तर, पहिलेका वर्षहरुमा वित्तीय समानिकरण बाट दिइन्थ्यो तर अहिले नसकिने अबस्था छ  शिक्षकहरुको बाँकी तलब भुक्तानी गर्नका लागि साढे चार करोड आवश्यक पर्छ ।’

उनका अनुसार सबै शिक्षकको बाँकी तलब भुक्तानी गर्नका लागि करिब साढे चार करोड रुपैयाँ आवश्यक पर्छ ।

उपाध्यायले शिक्षक प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको बताउँदै समस्या समाधानका लागि खुला संवादका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् ।

ठाटीकाँध गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तथा बरिष्ठ अधिकृत शिक्षा शाखा प्रमुख नेत्रबहादुर थापाका अनुसार गत चैत १६ गते बसेको सर्वपक्षीय बैठकले चैत मसान्तभित्र सबै शिक्षकको तलब भुक्तानी गर्ने निर्णय गरेको थियो । ‘सहमति कार्यान्वयन प्रक्रिया चलिरहेको छ, तर त्यसैबीच शिक्षकहरूले तालाबन्दी गर्नुभयो,’ थापाले भने, ‘हामी समस्या समाधानतर्फ गइरहेका छौँ ।’

प्रतिक्रिया