ठाटीकाँधमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न
डेढ सयभन्दा बढीले गरे स्वास्थ्य परीक्षण
दैलेख - दैलेखको ठाटीकाँध गाउँपालिकामा सञ्चालित दुई दिने स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । सोमवारदेखि सुरु भएको शिविर ठाटीकाँध गाउँपालिकाको वडा नम्बर -३ र ४ मा सञ्चालन गरिएको थियो ।
इसिडीदेखि कक्षा पाँचसम्मका बालबालिकाको दिशामा जुका, चुर्ना र औँसाका जीवाणु पहिचान सम्बन्धी स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो ।
शिविर एईआइएन लक्जेम्बर्गको साझेदारी, ठाटीकाँध गाउँपालिकाको समन्वय र सोसेक नेपालद्वारा सञ्चालित सहकार्य परियोजनाको सहजीकरणमा सम्पन्न गरिएको सहकार्य परियोजनामा कार्यरत स्वास्थ्य प्राविधिक तारा आचार्यले जानकारी दिइन् ।

उनका अनुसार वडा नम्बर - ४ गैरागाउँस्थित श्री देउती माध्यमिक विद्यालयमा ९९ जना र वडा नम्बर ३ धामीगाउँस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ८२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । 'धेरैजसो बालबालिकाको अवस्था सामान्य देखियो,'आचार्यले भनिन्, 'तर तीन जना बालबालिकामा पाचनतन्त्र (दिशा) सम्बन्धी संक्रमण देखिएको छ । डाक्टरको सल्लाहअनुसार औषधि वितरण गरिएको छ ।'
आचार्यले धामीगाउँस्थित विद्यालयमा खानेपानी र सरसफाइको अवस्था कमजोर रहेको बताइन् । 'विद्यालयमा स्वच्छ खानेपानीको अभाव छ, विद्यार्थीले टाढाबाट पानी बोक्नुपर्ने अवस्था छ,' उनले भनिन्, “सफा वातावरण र सरसफाइ व्यवस्थापनमा पालिकाले विशेष ध्यान दिन आवश्यक छ ।'
शिविरमा बालबालिकाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतिक्रिया