भैरवीका किसानको व्यवसाय प्रर्वद्धनमा सोसेक नेपालको सहयोग

भैरवीका किसानको व्यवसाय प्रर्वद्धनमा सोसेक नेपालको सहयोग

नेपाललाई "कृषि प्रधान मुलुक" भनिए पनि हालको अवस्थामा उक्त भनाइ सार्थक रहन सकेको छैन। कृषि क्षेत्रमा लगानी न्यून हुनुका साथै गरिएको लगानीले पनि अपेक्षित प्रतिफल नदिँदा खाद्यान्नदेखि विविध कृषि उपजसम्म छिमेकी मुलुकबाट आयात गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ। युवाशक्ति विदेशिने क्रम बढ्दै जाँदा देशभित्रको जमिन बाँझो बस्ने अवस्था पनि देखा परेको छ।

यस्तै समयमा सोसेक नेपालले सञ्चालन गरेको आधार परियोजनाले दैलेखको भैरवी गाउँपालिकाका किसानहरुको जीविकोपार्जन र व्यावसायिक प्रर्वद्धनका लागि गरेको सहयोगले ग्रामीण क्षेत्रमा आशा जगाएको छ। दुर्गम भैरवीका किसानलाई माहुरी पालन, च्याउ खेति र अन्य उद्यममार्फत आत्मनिर्भर बनाउन सोसेकले थालेको प्रयासले प्रशंसा पाएको हो। परियोजनाले भैरवी गाउँपालिकासँग सहकार्य गर्दै एईआइएन लक्जेम्बर्गको आर्थिक सहयोगमा २० जना किसानलाई मौरी  पालनका लागि सहयोग गरेको छ।

 

परम्परागत रूपमा मुढेघारमा मौरी पाल्दै आएका किसानलाई नेपाल मौरी पालक महासंघ कर्णाली प्रदेशसँगको सहकार्यमा प्रत्येक व्यक्तिलाई एक–एक घार माहुरी, महदानी र आवश्यक प्राविधिक सल्लाहसमेत प्रदान गरिएको छ। नेपाल मौरी पालक महासंघ कर्णाली प्रदेश अध्यक्ष लिलाराम ढकालका अनुसार प्रत्येक सिजनमा एक किसानले १५ देखि २० किलोसम्म मह उत्पादन गर्न सक्ने र आगामी वर्षहरूमा ४ देखि ५ घारसम्म नयाँ मौरी उत्पादन गर्न सक्ने सम्भावना रहेको छ। त्यस्तै, सो अवसरमा बोल्दै भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले मौरी पालनजस्ता साना व्यवसायले ग्रामीण किसानलाई आत्मनिर्भर बनाउने बताइन् ।

उनले गाउँपालिकाले किसानको व्यावसायिक विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । परियोजनाबाट सहयोग पाएका किसानमध्ये केहीले व्यावसायिक रूपमा च्याउखेति पनि थालेका छन्। समूहगत रूपमा अघि बढिरहेका किसानहरू सावित्रा थापा मगर र तुलसी गुरुंगले सीमित स्रोत साधनबीच राम्रो उत्पादन लिन सफल भएको बताउँदै खुशी व्यक्त गरेका छन्।

यस्तै, परियोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गत भैरवी गाउँपालिकाका वडा नं. १ देखि ७ सम्मका ३५ जना बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरेको छ। अभिभावकविहीन, दलित, विपन्न तथा पिछडिएका बालबालिकालाई लक्षित उक्त सहयोगले विद्यालय जान नपाएका बालबालिकालाई पुनः पढाइतर्फ आकर्षित गरेको छ। यसरी कागजमा मात्र नभई व्यवहारमै देखिने गरी सञ्चालन भइरहेको सोसेक नेपालको आधार परियोजना दुर्गम भैरवीका किसान र बालबालिकाका लागि साँच्चिकै “आधार” बनेको स्पष्ट देखिन्छ।

प्रतिक्रिया