चन्दननाथमा बालअधिकार समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चन्दननाथमा बालअधिकार समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जुम्ला -   जुम्लाको चन्दननाथ नगरपालिका–४ मा बालअधिकार समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा जुम्लामा सञ्चालित बिहानी परियोजनाको सहजीकरणमा सम्पन्न भएको हो ।

बैठकमा बालअधिकार संरक्षणका गतिविधि, वडा क्षेत्रमा रहेका चुनौतीहरू तथा आगामी योजनाबारे विस्तृत छलफल गरिएको थियो । 

कार्यक्रममा समितिले पछिल्लो समय छाउपडी प्रथाको न्यूनीकरण र बालविवाह घटाउने क्षेत्रमा सकारात्मक प्रगति गरेको जानकारी दिएको छ। सहभागीहरूका अनुसार वडाका महिलाहरू सुरक्षित स्थानमा बसोबास गर्न थालेका छन् भने बालविवाहका घटना पनि क्रमशः घट्दै गएका छन्।

 बैठकमा वडामा लागू पदार्थ दुव्र्यसन र लागूऔषध दुरुपयोगका समस्या तीव्र रूपमा बढ्दै गएको विषयमा गम्भीर चासो व्यक्त गरिएको छ। यस विषयलाई नियन्त्रण गर्नका लागि बैठकले ठोस निर्णयहरू पनि गरेको छ।

बैठकले गरेका प्रमुख निर्णयहरूमा वडाभित्रका बाल क्लबका सदस्यहरूले लागू पदार्थ दुव्र्यसनविरुद्ध नाटक प्रदर्शन गरेर जनचेतना फैलाउने, दुव्र्यसनमा संलग्न बालबालिकालाई कानुनी कारबाही र सचेतना कार्यक्रममार्फत पुनःमुख्यधारमा ल्याउने, जातीय विभेद न्यूनीकरणका लागि सम्बन्धित संस्था र जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गरी अभिमुखीकरण तथा कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना समावेश छन्।

वडा अध्यक्ष र प्रहरी प्रतिनिधिहरूले पनि उक्त समस्यालाई नियन्त्रण गर्नका लागि संयुक्त रूपमा कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। बालअधिकार समितिका सदस्यहरूले भने, “वडामा बालबालिकाका अधिकार सुनिश्चित गर्न सबै पक्षले मिलेर काम गर्न आवश्यक छ। चेतना र कानुनी ज्ञानले मात्र बालबालिकालाई सुरक्षित वातावरण दिलाउन सकिन्छ।”

प्रतिक्रिया