जुम्लामा शारीरिक सजाय विरुद्ध शिक्षक अभिमुखीकरण सम्पन्न
जुम्ला - जुम्लाको चनदननाथ नगरपालिकामा शारीरिक सजाय विरुद्ध शिक्षक अभिमुखीकरण कार्यक्रम गरिएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी चनदननाथ नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा जुम्लामा सञ्चालित बिहानी परियोजनाको सहजीकरणमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकाको वडा नम्बर –४ स्थित श्री चन्दनाथ नमूना माध्यमिक विद्यालयमा शारीरिक सजाय विरुद्ध शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको बिहानी परियोजनामा कार्यरत मनोविमर्शकर्ता सरिता खड्काले जानकारी दिइन् । उनका अनुसार कार्यक्रममा विद्यालयका २२ जना शिक्षक–शिक्षिकाहरुको सहभागीता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शारीरिक सजायका मनोवैज्ञानिक, सामाजिक असर, बालअधिकार, शिक्षक आचारसंहिता र बालमैत्री शिक्षा पद्धतिबारे छलफल गरिएको खड्काले बताइन् ।
कार्यक्रमपछि सहभागीहरूले विद्यालयलाई सजायमुक्त बनाउने, बालबालिकाको इच्छा र मनस्थिति बुझेर पढाउने तथा मनोसामाजिक समस्यामा परेका बालबालिकालाई परामर्श सेवा दिने प्रतिबद्धता जनाएका थिए ।
मुख्य उपलब्धि र सहमति
अभिमुखीकरणबाट प्राप्त सहमतिहरूमा विद्यालयलाई दण्ड–सजायमुक्त बनाउने र बालबालिकाको मनोविज्ञान बुझेर पठन–पाठन गर्ने विषयमा जोड दिइएको छ।
सहभागीहरूले चारवटा बुँदामा सहमति जनाए । बालबालिकाले व्यक्त गरेका कुरा ध्यानपूर्वक सुन्ने, सजाय र दण्डविहीन शिक्षण अभ्यास लागू गर्ने, विद्यार्थीको मनोवैज्ञानिक अवस्था बुझ्दै शिक्षा दिने, विद्यालयलाई पूर्ण रूपमा बालमैत्री बनाउन पहल गर्ने चार बुँदामा सहमति जनाएको बिहानी परियोजनामा कार्यरत खड्काले जानकारी दिइन् ।
कार्यक्रम समापन गर्दै विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले एईआइएन र सोसेक नेपाललाई धन्यवाद दिए । “शिक्षकहरूमा सजायविहीन शिक्षण पद्धतिप्रतिको चेतना बढेको छ । अब विद्यालयमा मनोसामाजिक समस्यामा परेका बालबालिकालाई मनोपरामर्श सेवा दिने वातावरण निर्माण गरिनेछ ।”
प्रतिक्रिया