जहाँ विष नहाली तरकारी फल्छ

जहाँ विष नहाली तरकारी फल्छ

 दैलेख (ठाटीकाँध) -   बारीभरी लटरम्म फलेका टमाटर । त्यही लटरम्म फलेको टमाटरको दाना टिप्दै ठाटीकाँध - ६ का गणेश थापा क्वाप्प मुखमा हाल्छन् । अनि मुस्कुराँदै भन्छन्, ‘सर यसमा कुनै रासायनिक÷जैविक विषादी प्रयोग गरिएको छैन यस्लाई यत्तिकै खान मिल्छ ।’

थापाले भनेजस्तै उनको बारी साँच्चिकै लोभलाग्दो थियो । बारीभरी लटरम्म टमाटर फलाएका उनी बिहान भालेको डाकोसँगै उठ्छन् । सूर्योदय हुन नपाउँदै बारीतिर लाग्छन् । जहाँ टमाटरसँगै अन्य हरियाली तरकारीका बोटहरू हिलाम्मे माटोमा लहराइरहेका हुन्छन् । गोडमेल गर्दै, सुम्सुम्याउँदै र बोटको हेरचाह गर्दै उनले आफ्नो बिहानीको सुरुवात गर्छन । यही नै हो गणेश थापाको दैनिकी,  जो अब ठाटीकाँधका कृषक मात्र होइनन् नमुना अगुवा कृषकका रूपमा चिनिन थालेका छन् ।

थापा पहिले आफ्नै परिवारका लागि मात्र तरकारी लगाउने गर्थे । तर, २०७१ सालदेखि थापा कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर व्यावसायिक रुपमै तरकारी खेतीमा होमिएको बताउँछन् । पहिले त आफुलाई खानको लागि मात्र तरकारी लगाउँथे,’मुखमा हालेको टमाटरको दाना निल्दै भन्छन्, ‘तरकारी खेतीमा राम्रो सम्भावना देखेपछि फर्म दर्ता गरेर व्यवसायिक रुपमै तरकारी खेतीमा होमिए ।’

राम्रो उत्पादनका लागि रासायनिक तथा घरकै अन्य जैविक विषादी प्रयोग गर्दा पनि हुन्थ्यो तर, त्यसो नगरेको उनको भनाई छ । खेर गएपनि जान्छ अर्गानिक तरकारी उत्पादन गर्छु भनेर कुनै विषादी प्रयोग गरिन,’उनले भने, ‘त्यसैले अर्गानिक फलाउ, अर्कानिक खाउँ भनेर विषादी हालिन अहिले तपार्ईँहरुले पनि खान मिल्यो र मैले पनि यत्तिकै खान मिल्यो ।’ 

तरकारी खेतीमा हात हालेपछि उनको जीवन नै बदलिएको छ । अहिले उनले पाँच रोपनी जग्गामा मौसमी र बेमौसमी तरकारी खेती, कुखुरापालन र बंगुरपालन गर्दै आएका छन्  । थापाले अहिले वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेको उनी बताउँछन् ।

पहिले प्राविधिक सहयोग नहुँदा धेरै समस्या पथ्र्यो,’ थापा सम्झन्छन्, ‘तर अहिले सोसेक नेपालद्वारा ठाटीकाँधमा सञ्चालन भएको सहकार्य परियोजनापछि प्राविधिकहरू घरमै आइपुग्छन्, नयाँ तरिका सिकाउँछन्। यसले मलाई अझ उत्साहित बनाएको छ ।’

हालै मात्रै उनले ३० रुपैयाँ प्रतिकेजी दरले टमाटर बेचेर १० हजार रुपैयाँ आम्दानी गरेका छन् । उनले गर्वका साथ भने, ‘अब त कृषि मेरो पेशा मात्रै होइन, पहिचान बनेको छ ।’

एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा ठाटीकाँधमा सहकार्य परियोजना सञ्चालन भएपछि ठाटीकाँधका कृषकहरु उत्साहित छन् । सोसेकले बिउ, प्राविधिक सल्लाह र उपकरण दिएपछि खेती गर्न झन् सजिलो भएको छ,’ उनी भन्छिन्, ‘पहिले थोरै लगाउने गर्थें, अब धेरै लगाउँछु र बेच्न पनि जान्छु ।’

सहकार्य परियोजनामा कार्यरत कृषि प्राविधिक भूपेन्द्र सिजापति बिहानदेखि साँझसम्म किसानका बारीमै देखिन्छन् । उनी किसानको समस्या सुन्छन्, रोग पहिचान गर्छन् र समाधानका उपायहरूबारे कृषकै बारीमा पुगेर सल्लाह दिन्छन् ।

‘पहिले किसानलाई प्राविधिक सहयोग नहुँदा खेतीमा समस्या हुन्थ्यो,’ सिजापति भन्छन्, ‘अब हामी प्रत्यक्ष बारीमै पुगेर रोगको पहिचानदेखि जैविक विषादी बनाउने विधिसम्म सिकाउँछौं । यसले उत्पादनमा उल्लेख्य वृद्धि गरेको छ ।’

उनका अनुसार सहकार्य परियोजनाको सुरुवातपछि टनेल, बिउबिजन, सिंचाइका पाइप, जैविक विषादी बनाउनका सामग्री, पानीका ट्यांकी र हजारीजस्ता कृषि उपकरण किसानलाई वितरण गरिएको छ ।

सोसेकसँगै गाउँपालिकामा अन्य गैरसरकारी संस्था एमसिडिएस, एभ्रेष्ट क्लब लगायतका संस्थाहरुले पनि काम गर्दै आएका छन् । 

ठाटीकाँधमा अहिले ‘कालिका ताजा तरकारी कृषक समूह’ गठन गरिएको छ । समूहका सदस्यहरूले मासिक ५० रुपैयाँका दरले बचत गर्छन् र सामूहिक निर्णयअनुसार खेती अगाडि बढाउँछन् । समूहका अधिकांश सदस्य महिला हुन्, जसले घरको खर्चसँगै आत्मनिर्भर बन्ने बाटो समातेका छन् ।
बजारको चुनौती अझै बाँकी

तर, यति सब सुधारबीच पनि एक समस्या अझै बाँकी छ,  बजार पहुँच । स्थानीय बजार सानो भएकाले उत्पादन बेच्ने चुनौती कायम रहेको गणेश थापाको गुनासो छ । ‘तरकारी त राम्रै फल्छ, तर बजारमा खपत कम छ,’ उनी भन्छन्, “कहिलेकाहीँ बेच्न नपाउँदा तरकारी कुहिएर फाल्नुपर्ने अवस्था आउँछ ।’

एईआइएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित सहकार्य परियोजनाले ठाटीकाँधमा व्यवसायिक कृषि खेतीप्रति नयाँ उर्जा र आशा जगाएको छ । पहिले आत्मनिर्भर बन्ने सपना मात्र देख्ने किसानहरू अहिले आत्मविश्वासका साथ त्यसलाई व्यवहारमा उतार्न थालेका छन्।

प्रतिक्रिया