बिहानीले ल्याउँदै समुदायमा सकारात्मक परिवर्तन
जुम्ला - जुम्लाको चनन्दनाथ नगरपालिका–१ मा सोसेक नेपालले सरसफाइ, जातीय विभेद, छाउपडी र सुरक्षित मातृत्व सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेपछि समुदायमा उल्लेखनीय परिवर्तन आएको स्थानीयवासीले बताएका छन् ।
एईआइएन लक्जेम्बर्गको साझेदारी चनदननाथ नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजनाको सहजीकरणमा भएको फलोअप कार्यक्रममा स्थानीयवासीले यस्तो बताएका हुन् ।
हालै सम्पन्न फलोअप कार्यक्रममा सहभागीहरूले विगतका कार्यक्रमहरूले व्यवहारिक परिवर्तन ल्याएको बताए । वडा सदस्य कोइरे कुलालले भने, “सोसेक नेपालले गरेका कार्यक्रमपछि हाम्रो समुदाय पहिलाको भन्दा अहिले धेरै परिवर्तन भएको छ । तर अझै पनि महिलालाई कानुन र सरसफाइबारे थप सचेतना आवश्यक छ, त्यसका लागि कानुन सम्बन्धी क्लास हुनु जरुरी छ ।”
त्यसैगरी, स्थानीय चुटुकी कुलालले संस्थाले दिएको कृषि तालिम र बिउ वितरणले अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन मिलेको बताइन् । उनले भनिन्, “हामीले बजारबाट तरकारी किन्न सक्दैनौं, बिउ पाउँदा आफ्नै घरमा तरकारी उत्पादन गरेर खाएका थियौँ। ग्रीनहाउसको सहयोग भए अझ राम्रो हुन्थ्यो ।”
युवा हरि कुलालले रोजगारमुखी तालिमको माग गर्दै भने, “हाम्रो बाडामा धेरै पढेका छैनन्। यदि संस्थाले सहयोग गर्न सक्छ भने युवालाई ग्यारेज वा इलेक्ट्रोनिक तालिम दिनु उपयुक्त हुन्छ।”

त्यस्तै, खलि कुलालले महिलाका लागि सिपमूलक तालिम आवश्यक रहेको उल्लेख गर्दै भनिन्, “सिलाइ–कटाइ जस्ता तालिम सिक्ने अवसर पाएका भए आफ्नै खुट्टामा उभिन सकिन्थ्यो, घरखर्च पनि सजिलो हुनेथियो ।”
मिमबहादुर कुलालका अनुसार, विद्यालयका विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरणले पढाइमा सकारात्मक प्रभाव पारेको छ। “पहिले ड्रेस नहुँदा स्कुल जान लाज मान्थे, अहिले खुसीसाथ जान्छन्,” उनले भने ।
स्थानीयहरूले आगामी आर्थिक वर्षमा सरसफाइ, कानुनी सशक्तीकरण, रोजगारमुखी तथा सिपमूलक तालिमका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् । सोसेक नेपालका कार्यक्रमले स्थानीय समुदायमा जागरण र व्यवहारिक परिवर्तन ल्याएको भन्दै सहभागीहरूले निरन्तरता र विस्तारको अपेक्षा गरेका छन्।
प्रतिक्रिया